पोखरा। दक्षिण एसियामै पहिलोपटक पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव सम्पन्न भएको छ।
ड्रागन बोट महोत्सवमार्फत चीनमा नेपालको थप प्रचार गरी लाखौं पर्यटक नेपाल ल्याउने उद्धेश्यसाथ नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवले पर्यटनमा नयाँ तरङ्ग उत्पन्न गर्ने आशा राखिएको छ।
शनिबारसम्पन्न प्रतियोगितामा सातै प्रदेश र चीनबाट गरी १ सय ६० जनाको सहभागिता रहेको थियो। चिनियाँ चार र नेपाली चार टोली सहभागी छन्।
प्रतियोगितामा युवान बोट, एसजी ड्रागन बोट सिंगापुर, सिचुआन ड्रागन बोट, चाइना–नेपाल फ्रेन्डसिप ड्रागन बोट पोखरा, नारा ड्रागन बोट नेपाल, फेवा ड्रागन कनेट नेपाल, पोखरा महानगर ड्रागन बोट र एनआरसिए बोट नेपालले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको सबैभन्दा रोचक र आकर्षण एनआरसिए बोट टोलीमा रहेकी सीता थापा छिन्। थापा नेपालबाट सहभागी ६० खेलाडीमध्येकी एकमात्र महिला प्रतिस्पर्धी हुन्।
चीन र सिंगापुरबाट समेत महिलाको सहभागिता नगण्य संख्यामा रहेको बेला नेपालले एक्ली महिलाका रूपमा थापालाई अगाडि सारिएको छ। अहिले थापा आफ्नै घरको आँगनमा रहेको फेवातालमा ड्रागन बोट प्रतियोगितामा सहभागिता जनाएकी हुन्।
थापाको जन्मघर नै पोखराको लेकसाइड भएकाले फेवाताल र त्यहाँ बोटिङ गर्नु उनका लागि नौलो विषय थिएन। तर, अहिले सुरु भएको ड्रागन बोट भने उनलाई केही नयाँ लागेको बताउँछिन्।
१६ वर्षदेखि -याफ्टिङ गाइड गरिरहेकी थापालाई अहिले सञ्चालनमा आएको ड्रागन बोट रेस केही फरक भने लागेको उनले बताइन्। पानीको छालमा आफ्नो यात्रा तय गर्ने थापालाई फेवातालमा भइरहेको ड्रागन बोट रेसमा बाजाको तालमा बोट दौडाउन केही असहज भएको उनको भनाइ छ।
त्यसका लागि उनको टिमले चार दिनअघि नै फेवाताल गएर केही समय तालिमसमेत लिएको र अहिले भने सहज भइसकेको बताइन्। सानैदेखि फेवातालमा डुंगा देख्दै र खेल्दै आएकी थापाको अहिले आफ्नै आँगनमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा मन फुरुङ्ग भएको बताउँछिन्।
६ महिना नेपाल र ६ महिना विदेशमा -याफ्टिङ गाइड गराउँदै आएकी थापा यो वर्षको सिजनमा भने बाहिर नगई बस्दा यो प्रतियोगितामा सहभागिता जनाउन पाउँदा खुसी लागेको बताइन्।
थापाको टिममा १५ जना छन्। जहाँ पोखरा, काठमाडौं, त्रिशुली र भोटेकोशीमा -याफ्टिङ गरिरहेकामध्येबाट छनौट भएका सहभागी छन्। ‘टिममा सहभागीले आफू एउटी महिला हुँदाहुँदै पनि सहभागी गराएकोमा खुसी लागेको छ,’ थापाले भनिन्, ‘सामान्यतया पुरुष खेलाडीको तुलनामा महिलाको बल कमै मात्रामा हुने भएकोले टिमले चाहेको भए म नपर्न पनि सक्थेँ, तर मलाई विश्वास गरेर सहभागी गराउनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु।’
कायाकिङ हुँदै -याफ्टिङ गाइडको यात्रा
सुरुसुरुमा रमाइलोका लागि फेवातालमा कायाकिङ खेल्दाखेल्दै थापाले त्यही पानीलाई नै आफ्नो व्यावसायिक यात्रा बनाइन्। १२ वर्षको उमेरमा पहिलोपटक फेवातालमा कायाकिङ गरेकी थापा अहिले नेपाल र विदेशमा -याफ्टिङ गाइडका रूपमा काम गर्दै आएकी छिन्।
सन् २००७ मा स्वीडेनकी इंका गुरुङसँग कायाकिङ तालिम लिएपछि भने जलयात्रालाई आफ्नो पेसाका रूपमा अगाडि बढाउने अठोट लिएर अगाडि बढेकी थापा गाइड बनेकी छिन्।
थापाले पहिलोपटक २००८ मा सिन्धुपाल्चोकको भोटेकोशीमा कायाकिङ गरेकी थिइन्। उनले अहिले कायाकिङसँगै -याफ्टिङसमेत खेलाउदै आएकी छिन्।