काठमाडौं। आर्थिक स्वतन्त्रताका हिसाबले नेपाल विश्वको १ सय ४२औं स्थानमा रहेको छ। नेपालको आर्थिक स्वतन्त्रता अंक ५१.४ छ।
दक्षिण एसियामा आर्थिक स्वतन्त्रता दिने देशमध्ये सबैभन्दा अघि भुटान छ। बंगलादेश, भारत र श्रीलंकापछि नेपाल छ। नेपालपछि पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान छन्। पहिलो स्थानमा सिङापुर हुँदा पुच्छारमा उत्तर कोरिया छ।
विश्वका १ सय ७६ देशमध्ये भुटान ५९ अंकसाथ ९०औं स्थानमा छ। यस्तै बंगलादेश ५३.८ अंकसहित १ सय २३, दक्षिणी छिमेकी भारत ५२.९ अंकसाथ १ सय ३१ र श्रीलंका ५२.२ अंकसाथ १ सय ३६औं स्थानमा छ।
यसैगरी पाकिस्तान ४९.४ अंकसहित १ सय ५२ र माल्दिभ्स ४६.६ अंकसाथ १ सय ६०औं स्थानमा छ। दक्षिण एसियामा अफगानिस्तानको स्थान देखाइएको छैन।
विश्वमा सबैभन्दा बढी आर्थिक स्वतन्त्रता एसियाली देश सिंगापुरमा छ। सिंगापुर आर्थिक स्वतन्त्रता हुने विश्वकै पहिलो देश बनेको छ। दोस्रो स्वीजरल्यान्ड, तेस्रो आयरल्यान्ड, चौथो ताइवान, पाँचौं न्युजिल्यान्ड, छैठौं स्टोनिया, सातौं लक्जेमबर्ग, आठौं नेदरल्यान्ड, नवौं डेनमार्क र १०औं स्थानमा स्वीडेन छन्।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक स्वतन्त्रताको मामिलामा २५औं स्थानमा छ भने चौथो ठूलो अर्थतन्त्र जर्मनी १४औं स्थानमा छ। यस्तै छैठौं ठूलो अर्थतन्त्र बेलायत २८, तेस्रो ठूलो अर्थतन्त्र जापान ३१ र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन नेपालभन्दा पछाडि १ सय ५४औं स्थानमा छ।
विश्वमा ८० वा त्यसभन्दा माथिको अंक भएका चार देश आयरल्यान्ड, सिंगापुर, स्वीजरल्यान्ड र ताइवान आर्थिकरूपमा पूर्णस्वतन्त्र भनी वर्गीकरणमा परेका छन्।
युरोपभित्र ‘पावरहाउस’ भए पनि जर्मनी ७३.७ अंकसाथ महादेशभित्र १०औं स्थानमा छ। पछिल्लो तीन वर्षमा जर्मनीको सरकारी खर्च कूल गार्हस्थ उत्पादन (जिडिपी) को औसत ४९ प्रतिशत छ।
सम्पत्ति अधिकार र न्यायिक प्रभावकारिताजस्ता श्रेणीमा विशेषगरी उच्च अंक लिँदै आयरल्यान्ड विश्वकै तेस्रो स्थानमा छ।
अफ्रिका विश्वमा सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको महादेश हो।
यद्यपि, यो आर्थिक वृद्धिका लागि उच्चतम सम्भावना भएको क्षेत्र पनि हो। बढ्दो जनसंख्या, श्रमशक्ति र भविष्यको नवीनताका लागि आशावादी छ। वास्तवमा अफ्रिकाले शताब्दीको अन्त्यमा २.५ अर्ब मानिसको वृद्धि देख्ने छ।
अफ्रिकामा सबैभन्दा कम अंक हासिल गर्ने देश सुडान हो। जुन गृहयुद्धका कारण थप तनावमा छ। ऐतिहासिकरूपमा व्यापक भ्रष्टाचार र संस्थागत क्षमता कमीले आर्थिक विकासलाई बाधा पु¥याएको छ।
त्यसविपरीत बोत्स्वानाले महाद्वीपीय अफ्रिकामा उच्चतम अंक ६४.९ दर्ता गरेको छ। यो फ्रान्स र इटालीजस्ता धनी देशभन्दा उच्च स्थानमा हो।
अमेरिका ७०.६ अंकसाथ क्षेत्रीयरूपमा तेस्रो र समग्रमा २५औं स्थानमा छ। प्रतिवेदनले अमेरिकाको वर्गीकरणलाई मुद्रास्फीति, बढ्दो सरकारी ऋण र अनियन्त्रित घाटा खर्चजस्ता मुद्दामा मात्र अधिकांश स्वतन्त्रताका रूपमा श्रेय दिएको छ। सार्वजनिक ऋण जिडिपीको १ सय २८ प्रतिशतभन्दा बढी छ।
दक्षिण अमेरिकामा चिली शीर्ष स्थानमा आउँछ। अमेरिका, बेलायत र जापानजस्ता अन्य धेरै आर्थिक पावरहाउसभन्दा चिली माथि छ। यद्यपि, नयाँ संविधानसभा चुनावले वर्तमान आर्थिक अवस्थालाई जोखिममा पार्न सक्छ। किनकि, यसले अर्थतन्त्रमा धेरै समाजवादी दृष्टिकोणलाई समर्थन गर्दछ।
चीनको अंक पूर्वी एसिया र ओसिनियामा सबैभन्दा कम छ। यसलाई दबिएको अर्थव्यवस्थाका रूपमा वर्गीकरण गर्दै चीन विश्वमा १ सय ५४औं स्थानमा छ। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले नियमित आर्थिक गतिविधिमा प्रत्यक्ष नियन्त्रणको अभ्यास गर्छ। विदेशी लगानीप्रति चीनको संरक्षणवादी अडान र अन्य राष्ट्रले लगाएको व्यापार शुल्कको प्रशस्तता पनि यहाँको कारक हो।
भारतमा जहाँ सार्वजनिक ऋण जिडिपीको लगभग ८४ प्रतिशतबराबर छ। यो वित्तीय स्वास्थ्य सबैभन्दा खराब ‘स्कोरिङ’ हो।
अर्थव्यवस्थाको धेरैजसो अनौपचारिक रहन्छ। मानिसको ठूलो हिस्साले आय वा औपचारिक सम्झौताबिना काम गर्छ। जसले श्रम स्वतन्त्रतालाई चुनौती दिन्छ।
आर्थिक स्वतन्त्रताको अवधारणाले व्यक्ति र व्यवसायलाई आर्थिक निर्णय गर्ने स्वतन्त्रताको हदैसम्म मूल्यांकन गर्न महत्वपूर्ण ढाँचाका रूपमा काम गर्छ। कम आर्थिक स्वतन्त्रता भएका देशमा सरकारहरूले व्यवसाय गर्ने स्वतन्त्रतामा जबर्जस्ती र अवरोध सिर्जना गर्छन्। जसले अन्ततः समृद्धिमा बाधा पु¥याउँछ।
सम्पदा अधिकार, कर बोझ र श्रम स्वतन्त्रतालगायत अन्य कारक हेरेर शून्य दशमलव १०० को ‘स्केल’ मा विश्वभरिका हरेक देशमा आर्थिक स्वतन्त्रताको स्तर देखाउन ‘हेरिटेज फाउन्डेसन’ बाट आर्थिक स्वतन्त्रताको वार्षिक सूचकांक प्रयोग गरिन्छ।
आर्थिक स्वतन्त्रता मापन
यसले आर्थिक स्वतन्त्रता मापन गर्न गुणात्मक र मात्रात्मक दुवै गरी तीनवटा प्रमुख सूचकसहित चार विस्तृत वर्ग प्रयोग गर्छ।
कानुनको शासन : सम्पत्ति अधिकार, न्यायिक प्रभावकारिता
सरकारी निष्ठा : सरकारको आकार कर बोझ, वित्तीय स्वास्थ्य, सरकारी खर्च
नियामक दक्षता : श्रम स्वतन्त्रता, मौद्रिक स्वतन्त्रता, व्यापार स्वतन्त्रता
खुला बजार : वित्तीय स्वतन्त्रता, व्यापार स्वतन्त्रता, लगानी स्वतन्त्रता
१२ सूचक समानरूपमा भारित छन् र शून्यदेखि १ सयबाट स्कोर गरिएका छन्। समग्र अंक त्यसपछि १२ सूचकको औसतबाट निर्धारण गरिन्छ।
(भिजुअल क्यापटलिस्टको सहयोगमा)