काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारका लागि नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार नेपाल उद्योग परिसंघको २०औं वार्षिक साधारणसभामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
`निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजीकरण गर्न, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा छरितोपन र प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन, कानुनी र व्यावहारिक कदम चाल्न सरकारका तर्फबाट भइरहेका पहलप्रति यहाँहरु जानकार नै हुनुहुन्छ,´ दाहालले भने, `सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारका लागि नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध छ।´
उनले अर्थतन्त्रमा क्रमशः सुधार देखिँदै अहिलेसम्म आउँदा अर्थतन्त्र सुधारतर्फ गएको स्पष्ट देखिएको बताए।
`नेपालको संविधानले तीन खम्बे अर्थनीतिको संवैधानिक व्यवस्था गर्दै निजी, साझेदारी र सहकारीको मोडेल अगाडि सारेको छ,´ दाहालले भने, `सरकार र निजी क्षेत्रबीच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ भन्ने सरकारको मान्यता रहँदै आएको छ।´
उनले निजी क्षेत्रसँगको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुन सक्नेमा सरकार स्पष्ट रहेको बताए।
त्यसका लागि सरकारले निजी क्षेत्रसँग प्रभावकारी सहकार्य गर्दै आएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लाने उनको भनाइ छ।
`मुलुकमा उद्योगधन्दाको विकास भए रोजगारी सिर्जना हुनुका साथै आवश्यक वस्तु तथा सेवा मुलुकभित्रै उत्पादन हुने अपेक्षा गरिन्छ,´ प्रधानमन्त्री दाहालले भने, `अहिले मुलुकमा कतिपय उद्योग विदेशबाट आयात गरिने कच्चापदार्थमा आधारित रहेको र कतिपयले जनशक्ति पनि बाहिरकै प्रयोग गरिरहेकाले यस्ता उद्योगले आन्तरिक रोजगारी सिर्जना तथा अपेक्षित स्तरमा मूल्य अभिवृद्धि गर्न सकेका छैनन।´
उनले कृषिलगायत प्राथमिक क्षेत्रको विकास र विस्तारले उद्योग क्षेत्रको विकासलाई टेवा पुर्याइ कूल गार्हस्थ उत्पादन (जिडिपी) मा उद्योग क्षेत्रको योगदान बढ्दै जानुपर्नेमा त्यसो हुन नसकेको बताए।
याे कुरा ध्यानमा राखेर संरचनात्मक रूपान्तरणमा जोड दिने गरी सरकारले आफ्ना नीति तथा योजनाका काम अघि बढाएको उनको भनाइ छ।