काठमाडौं। नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले चाँडै सञ्चालनमा ल्याउन लागेको लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित करिब एक दर्जन उच्च तहका कार्यकारी अधिकृतका लागि दर्खास्त आह्वान गरेको छ।
बेलायतको राजधानी लन्डनमा दर्ता भएको हिमालय जेटले एक सिइओ, प्रमुख सञ्चालन अधिकृत (सिओओ), प्रमुत वित्त अधिकृत (सिएफओ), प्रमुख प्रविधि अधिकृत (सिटिओ), प्रमुख वाणिज्य अधिकृत (सिएमओ), प्रमुख प्राप्ति तथा खरिद अधिकृत (सिएपी), प्रमुख ग्राहक सेवा अधिकृत र प्रमुख प्रशासन तथा मावन संशाधन अधिकृत गरी आठ उच्च कार्यकारी अधिकृतका लागि दर्खास्त आह्वान गरेको हो।
ती सबै उच्च अधिकारी हिमालयको लन्डनस्थित हिथ्रो विमानस्थलको टर्मिनल २ मा रहेको मुख्यालमा रहेर काम गर्नेछन्।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटमार्फत गुरूङले नेपाल र भारत उडान गर्ने तयारी अगाडि बढाएका छन्।
गुरुङ उनै व्यवसायी हुन् जो सन् २०२२ मा विश्व सुन्दरी प्रतियोगिताको ७१औं संस्करणको सहआयोजक बनेका थिए। उनले विश्वप्रसिद्ध फिल्म मल्टिप्लेक्स चेन ‘प्राइभा लक्जरी सिनेमाज’ पनि सञ्चालन गर्दै आएका छन्।
गुरुङले हिमालय जेटमार्फत बेलायतबाट नेपाल, भारत, अमेरिका, अस्ट्रेलियालगायत गन्तव्यमा लामो दुरीको ‘प्रिमियम’ उडान सञ्चालन गर्ने तयारी अगाडि बढाएका छन्।
हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने घोषणा गरेको छ।
आगामी सेप्टेम्बरबाट व्यापारिक उडान सञ्चालन गर्ने योजना बनाएका गुरुङले हिमालयन जेटलाई के कस्ता किसिमको जहाज आवश्यक पर्छ भनेर केही महिनाअघि अमेरिकी जहाज निर्माता कम्पनी बोइङ भ्रमण गरेका थिए। गुरुङको हिमालय जेटलाई बोइङ स्वयंले सहयोग गर्ने जनाउ दिएको छ।
हिमालय जेट ‘स्टार्टअप’ एयरलाइन कम्पनी हो। यसले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो। गत अप्रिल २६ मा बोइङ कम्पनी भ्रमणमा गुरुङले आफ्ना आमाबाबुलाई समेत लगेका थिए। गुरुङ परिवारका लागि बोइङले ‘डिनर’ (रात्रिभोज) समेत आयोजना गरेको थियो।
हिमालय जेटले काठमाडौं, नयाँदिल्ली र मुम्बईलाई युरोपका लन्डन र पेरिसलाई सिधा प्रिमियम उडानमार्फत जोड्ने योजना बनाएको छ। त्यसैगरी आगामी वर्ष सेवा विस्तार गर्दै अमेरिका र अस्ट्रेलिया उडान गर्ने पनि कम्पनीको महत्वाकांक्षी योजना छ।
हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सुञ्चालन गर्न लागिएको हो।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।