काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले संकुचित अर्थतन्त्र र बढ्दो आयातलाई हरेर त्यसमा सुधार ल्याउने ढंगले बजेट ल्याएको बताएका छन्।
शुक्रबार नेपाल उद्योग परिसंघ (सिएनाई) को २०औं वार्षिक साधारणसभामा महतले यस्तो बताएका हुन्।
‘हामीले प्रस्तुत गरेको बजेटबाट कतिपय क्षेत्र खुसिहुनुहुन्न। तर नेपालको संकुचित आर्थिक अवस्था, बढ्दो आयातलाई सुधार गरी अर्थतन्त्र सुधारमा ल्याउन आवश्यक थियो,’ अर्थमन्त्री महतले भने, ‘सोहिअनुसार आगामी आर्थिक वर्षको बजेट आएको छ।’ उनले सीमित स्रोतकोबीचमा असीमित इच्छा र आकांक्षा पूरा गर्नेपर्ने अवस्था रहेको बताए।
‘मैले करको दरका कुरामा कसैको मुख हेरेको छैन। हेरिदियोस भन्नेहरूको पनि कुरा नसुनेकाले उनहिरू बेखुसी छन्,’ अर्थमन्त्री महतले भने, ‘पूर्ण त सबै राम्रो केही हुन्न। हामी आगामी दिनमा थप सुधारका काम गर्दै जाने छौं।’ उनले आफूले समग्र अवस्था हेरेर करको दर कायम गरेको उल्लेख गर्दै यसले सबैलाई फाइदा गर्ने बताए।
अत्याधिक कर बढाएको गुनासो आएको भन्दै यसपालि कर नबढाएको उनको भनाइ छ। ‘हामीले करको दायरा बढाउने र छुटको सूचि बढ्दै गएकाले त्यो अवस्था सुधार मात्र गरेको हो। जुन आवश्यक थियो,’ अर्थमन्त्री महतले भने, ‘हामी अब नयाँ अर्थतन्त्रको प्रणालीमा जान र आफूलाई त्यसमा बानी पार्न आवश्यक छ।’
उनले सामाजिक खर्च कटौती गर्ने अवस्था नभएकोमा बताउँदै बजेटले राखेको लक्ष्य पूरा गर्न र पुँजीगत खर्च सतप्रतिशत भएमा अर्थतन्त्र सुधार हुँदै जाने बताए।
‘अहिलेसम्म भएको व्यवस्था जे हो त्यसमा हामीले पछाडि फर्केर कुनै निर्णय गरेका छैनौं। अब आउने अवस्था सुधार गर्न के गर्ने भन्ने निर्णयमा हामी लागिपर्नु पर्ने छ,’ महतले भने।