काठमाडौं। घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले कम्पनीको प्रिमियम मूल्यमा आइपिओमा सेयर निष्कासनको खुला अवधिभित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुयाउने उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह गरिएको आरोप लगाएको छ।
कम्पनीले विज्ञप्ति जारी गरेर बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयको बारेमा पूर्ण पारदर्शिरूपमा स्पष्ट पार्न उद्योग तत्पर रहेको बताएको छ।
निष्कासन अनुमतिप्राप्त गर्ने सन्दर्भमा उद्योगबाट पेस भएका विवरण पत्र, वित्तीय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदनलगायतका सम्पूर्ण कागजात तथा विवरणको जिम्मेवारी लिन उद्योग तयार रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार धितोपत्र बोर्डद्वारा स्वीकृत भएपश्चात निष्कासन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानिय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, कम्पनीका कर्मचारी तथा म्युचुअल फन्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरी सेयर बाँडफाँट भइसकेको अवस्था छ।
सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले सेयर निष्कासन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको र सार्वजानिक निष्कासन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिइएको कम्पनीको गुनासो छ।
‘क्रेडिट रेटिङ प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञको विश्लेषण र मूल्यांकनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रवर्द्धकहरूको तर्फबाट प्रभावित पारेको हुनसक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहन्छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा छ।
नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुटा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी तत्काल नै रोकिन गएको सेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्ने कम्पनीको विश्वास छ।
देशकै ठूलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा लगानी विरोधी समूह लागि परेको र प्रायोजित कार्य तथा समाचार प्रचार प्रसार भइरहेको कम्पनीको आरोप छ।
यस उद्योगमा लगानी गर्ने सेयरहोल्डर, आवेदनकर्ता, तथा सम्बन्धित सबैको लगानी सुरक्षाको प्रत्याभुतिको लागि उद्योग पूर्णरूपमा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।