काठमाडौं। अमेरिकी होटल ग्रुप ‘विन्डह्याम’ नेपाल प्रवेश गरेको छ। पर्यटन व्यवसायी देशबन्धु बस्नेत (अजित) को लगानीमा विन्डह्याम होटल्स एन्ड रिसोर्ट्स कम्पनीलाई सुनसरी इटहरी भित्र्याएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति अध्यक्ष बस्नेतले इटहरीमा रहेको ग्रान्८ सेन्ट्रल होटललाई ‘विन्डह्याम होटल बाइ रमाडा’ ब्रान्डमा सञ्चालन गर्न विन्डह्यामसँग भारत नयाँदिल्लीमा सम्झौता गरेका छन्।
विन्डह्याम होटल्स एन् रिसोर्ट्सले हाल ९५ देशमा २४ ब्रान्डमा ८ हजार ९ सयभन्दा बढी होटल व्यवस्थापन गरिरहेको छ। रमाडा विन्डह्यामको ‘मिडस्केल’ ब्रान्ड हो। यो ब्रान्डमा हाल ६०ं देशमा ८ सय ५० भन्दा बढी होटल छन्।
इटहरीमा सन् २०२४ मा होटल सञ्चालनमा आउने बस्नेतले बताए। होटलमा ८० कोठा, रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा, आउटडोर स्विमिङ पुल, ब्यांक्वेट हल, मिटिङ हललगायत पाँचतारेस्तरको सुविधा उपलब्ध हुनेछन्।
पूर्वी नेपालका व्यापारिक केन्द्र इटहरी सुनसरीको सबैभन्दा ठूलो सहर हो। यसले विराटनगरको प्रान्तीय राजधानी र भारतसँगको सिमानासम्म सहज पहुँच प्रदान गर्छ।
नयाँदिल्लीमा भएको फ्रान्चाइज सम्झौतामा ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र विन्डह्यामको युरेसिया बजार प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरेका छन्।
बस्नेतले इटहरीमा विश्वस्तरीय होटल ब्रान्ड ल्याउन पाउनु गौरवको विषय भएको बताए। यसले नेपालको पूर्वी क्षेत्रमा आगन्तुकलाई विश्वस्तरीय आतिथ्य सेवा दिने उनको भनाइ छ।
त्यसैगरी शर्माले सम्झौतापछि नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए। विन्डह्यामको रमादाले इटहरी पुग्ने पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए।