काठमाडौं। आइएमई ग्रुप अन्तर्गतका केबुलकार कम्पनी चन्द्रागिरि हिल्स, मौलाकालि केबुलकार र लुम्बिनी केबुलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केबुलकारको टिकट मूल्यमा छुट दिने भएका छन्।
बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केवलकार कम्पनीहरूले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन्।
सम्झौताअनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीले केबुलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन्।
सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीले पेन्सन पट तथा आश्रित परिवारले नाता प्रमाणित कागजात देखाउनु पर्ने छ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केबुलकारका तर्फबाट कम्पनीका प्रतिनिधी रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन्।
बलका प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा आइएमई अन्तर्गतको बेष्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाहलगायत आइएमई ग्रुप तथा शसस्त्र बलका प्रतिनिधिहरूको सहभागिता थियो।