काठमाडौं। आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने भएको छ।
राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको हो।
मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२/८३ मा १ डलरबराबर १ सय ३६ रुपैयाँ ९ पैसा पुग्ने अनुमान छ।
चालू आर्थिक वर्ष १ सय ३२ रुपैयाँ हुने अनुमान आयोगको छ। यस्तै २०८०/८१ मा १ सय ३३.६ र २०८१/८२ मा १ सय ३४.२ पुग्ने अनुमान छ।
अहिले डलर बिक्रीदर १ सय ३१.४३ रुपैयाँ छ। सन् २०१७/१८ मा १ डलरबराबर औसत १ सय ४ रुपैयाँ थियो। त्यसपछि लगातार बढ्दै गएको छ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) छ। भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पर्ने छ। विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ। नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ। नेपालमात्र नभई विश्वबजारमा डलर बलियो हुँदै अन्य मुद्रा कमजोर बन्दै गएका छन्।
डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीतिको ग्राफ पनि ७.४१ प्रतिशत भएको राष्ट्र बैंकले जनाएको छ।
रुस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर बलियो भएपछि भारु कमजोर हुँदै गएको छ। डलर महँगो बने पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने ओरालो लागेको छ।
यस्तै मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने संकेत गरेको छ। फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताएका छन्।
फेडेरल रिजर्भले एक वर्षभन्दा केही बढी समय अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरिसकेको छ। फेडले २०२२ मार्चदेखि आफ्नो महत्वपूर्ण कर्जा दरलाई ५ प्रतिशत अंकले बढाइसकेको छ। ब्याजदर ५ देखि ५.२५ प्रतिशतको दायरामा पुगेको छ।
तर, यी आक्रमक कदमबीच मुद्रास्फीति फेडको २ प्रतिशत छ। फेडरल रिजर्भ बैंकले ब्याजदर बढाएपछि उदीयमान अर्थतन्त्रबाट लगानी अमेरिकातर्फ गएको छ। उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहने छ।
अहिले डलरका कारण विश्वबजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको मूल्य ग्राफ उकालो लागेको छ। अहिले भारत, चीन, अमेरिका र युरोप मूल्यवृद्धिको चपेटामा छन्। अमेरिकामा मूल्य वृद्धिदर दुई अंक नजिक पुगेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ। यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन्।
रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा सघाउ पुग्ने छ। घटिरहेको विदेशी मुद्रा सञ्चिति बढाउन यसले सहयोग गर्ने छ। पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ।
यस्तै वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ। विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन्।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ। डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ।
यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि भएको छ। डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार परेको छ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ।