काठमाडौं। ५ सय २१ मेगावाटका तीन ठूला आयोजना बनाउन निजी क्षेत्रले १ खर्ब १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
समृद्धि इनर्जी लिमिटेडले २ सय १६ मेगावाटको बझाङ माथिल्लो सेती, बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सहायक कम्पनीबाट बनाउन लागेको १ सय ३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालिको १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना निर्माण हुन लागेको हो।
बझाङ माथिल्लो सेती अर्धजलाशय आयोजना बनाउन ४४ अर्ब ४४ करोड लाग्ने विकासकर्ता कम्पनी समृद्धि इनर्जीले जनाएको छ।
बिपिसीको तल्लो मनाङ मस्र्याङ्दी आयोजना बनाउन ३० अर्ब र क्रिस्टल पावरको सुपर तमोरको अनुमानित लागत ३४ अर्ब ५९ करोड रुपैयाँ छ।
बिपिसीले बनाउन लागेको तल्लो मनाङ मस्र्याङ्दीको ८०.६ प्रतिशत सेयर चिनियाँ कम्पनीको छ। बिपिसी र तीन चिनियाँ कम्पनीले संयुक्तरूपमा स्थापना गरेको एससिआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि छ। एससिआइजीमा बिपिसीको १९.४ र बाँकी एससिआइजीको सेयर स्वामित्व छ।
एससिआइजीमा एससिआइजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ।
प्रस्तावित तीनवटै आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेस भएको छ। आयोगले असार १८ र १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको छ।
तल्लो मनाङ मस्र्याङ्दी र सुपर तमोर नदी प्रवाही (आरओआर) आयोजना हुन् भने बझाङ सेती अर्धजलाशययुक्त आयोजना हो।
बझाङ सेती आयोजनाबाट वार्षिक १ अर्ब २२ करोड ९६ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार बर्खामा ८३ करोड ४५ लाख ३० हजार र सुक्खामा ३९ करोड ५० लाख ७ हजार युनिट बिजुली उत्पादन हुनेछ।
विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा युनिटको ४.८० रुपैयाँ तय गरेको छ। यस्तै सुक्खायाममा आयोजनाको पिकिङ क्षमताअनुसार न्यूनतम ८.५० देखि अधिकतम १०.५५ रुपैयाँ तोकेको छ।
सुक्खायाममा दैनिक ४ देखि ६ घन्टासम्म पिकिङ भए युनिटको १०.५५ रुपैयाँमा पिपिए हुनेछ। आयोजनाले वर्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि गर्न पाउने छ।
विद्युतगृह र सेती–इङ्ल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणको काम भइरहेको छ।
आयोजनामा ७० प्रतिशत बैंक ऋण र बाँकी ३० प्रतिशत संस्थापक र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर जुटाउने योजना समृद्धिको छ। कम्पनीका अनुसार २०९० सालसम्ममा आयोजना निर्माण पूरा भएर बिजुली उत्पादन हुनेछ।
सुपर तमोर आरओआर आयोजना हो। यो आयोजनाबाट वार्षिक ९८ करोड ३१ लाख ९० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार बर्खाको ६ महिनामा ६७ करोड ९८ लाख ९२ हजार ७ सय २७ र सुक्खायामको ६ महिनामा ३० करोड ३२ लाख ९२ हजार ४ सय ५४ युनिट बिजुली उत्पादन हुनेछ।
आयोजनाको पिपिए दर पोस्टेड रेट बर्खामा प्रतियुनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँ तोकिएको छ। आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र दरखास्त कारबाहीको प्रक्रियामा छ। आयोजना कोशी प्रदेशको ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकामा पर्छ।
यस्तै बिपिसीले बनाउन लागेको अर्को क्यासकेड अर्धजलाशय तल्लो मनाङ मस्र्याङ्दीको पनि असार १८ गते पिपिएका लागि सार्वजनिक सुनुवाइ हुने भएको छ।
आयोजनाबाट वार्षिक ७९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार बर्खामा ५५ करोड २६ लाख ६९ हजार ६ सय ९३ र सुक्खायाममा २३ करोड ७६ लाख युनिट रहेको छ।
आयोजनाको पिपिए दर बर्खामा ४.८० र सुक्खामा ८.४० रुपैयाँ छ। आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने भएको छ। आयोजना दैनिक १.६६ घन्टा पिकिङ रहेको छ। आयोजना गण्डकी प्रदेशको मनाङको नासो गाउँपालिका र धारापानी गाउँपालिका छन्।