काठमाडौं। आइएमई मोटर्सले इलेक्ट्रिकल टेस्टिङ र डायग्नोस्टिक्स विकास गर्नका लागि ‘इलेक्ट्रिकल टेस्ट बेन्च’ को सुरुवात गरेको छ। सो टेस्ट बेन्चले इलेक्ट्रिकल सिस्टमका विभिन्न पक्ष पहिचान र विश्लेषण गर्ने कार्य गर्छ।
यसको महत्वपूर्ण विशेषतामध्ये एक इलेक्ट्रोनिक कन्ट्रोल युनिट (इसियू) मा जाने सर्किट र मुख्य पावर सप्लाईको पहिचान गर्नु हो। सो लाइभ टेस्ट बेन्चको प्रयोग गरेर विशेषज्ञहरूले इसियूले लो भोल्टेज पावर सप्लाई वितरण गरेको स्थान स्पष्ट पहिचान गरेर यसको कार्यलाई थप क्षमतायुक्त बनाउन सक्छन्।
त्यसैगरी इसियूमा कनेक्ट भएका सेन्सर र एक्चुएटरको कार्यलाई निरन्तरता प्रदान गर्नसमेत यसले सहयोग गर्छ। रेसिस्टेन्स एनालिसिसमार्फत कुनै छुट्टै सर्किटमा हुने सम्भावित सर्टसर्किटको पहिचान गरी कार्य सम्पादन क्षमतालाई प्रभावकारी बनाउनसमेत सहयोग गर्छ।
टेस्ट बेन्चले रिलेज, फ्युज र अन्य सर्किट प्रोटेक्सन डिभाइसको निरीक्षणलाई सरल बनाई टेक्निसियनलाई स्टार्टिङ र चार्जिङ सर्किट दुवैको पहिचान गर्न र यसको बारेमा बुझ्नसमेत सहज बनाउछ। यसले गर्दा सवारीसाधनको विश्वसनियता र कार्य सम्पादन दुवै बढाई इलेक्ट्रिकल सिस्टमलाई दक्षतापूर्वक सञ्चालन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
यस इलेक्ट्रिक टेस्ट बेन्चको परिचयले इलेक्ट्रिकल डायग्नोस्टिक्समा महत्वपूर्ण फड्को मारेको आइएमई मोटर्सका सिइओ हेमन्त पुराणिकले बताए।
‘यसका विशेषताहरू र डायग्नोस्टिक क्षमताहरूले विभिन्न क्षेत्रका विद्युतीय समस्याको निदान र समाधान गर्न दक्षता, शुद्धता र प्रभावकारिता वृद्धि गर्छ । अन्ततः यसले सवारीसाधनहरूमा छिटो र अझै भरपर्दो इलेक्ट्रिकल सिस्टम विकास गर्नमा भूमिका खेल्छ,’उनले भने।
आइएमई मोटर्सले आगामी दिनमा यससम्बन्धी उद्योग क्षेत्रका विशेषज्ञसँगको सहकार्यमा प्राविधिक तथा इन्जिनियरलाई यस प्रविधिको बारेमा शिक्षित गराउन तालिम तथा वर्कसप आयोजना गर्ने योजना बनाएको छ।
आइएमई मोटर्सको यो पहलले यो क्षेत्रका व्यावसायिक व्यक्तिलाई दक्ष बनाउन, इलेक्ट्रिकल डायग्नोस्टिक्सलाई अझै प्रभावकारी बनाउन र भेइकल इलेक्ट्रिकल सिस्टमका लागि सुरक्षित र अझै प्रभावकारी भविष्य बनाउन भूमिका खेल्ने कम्पनीको विश्वास छ।