काठमाडौं। बर्खा लाग्दा पनि औद्योगिक क्षेत्रमा विद्युतभार कटौती (लोडसेडिङ) हटेको छैन। नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गर्दा औद्योगिक उत्पादन ५० प्रतिशत कटौती भएको छ। प्राधिकरणले उद्योगलाई बत्ती बाल्न (लाइटिङ लोड) मात्रै भनेको छ। जेनेरेटर चलाएर बिजुली आपूर्ति गर्दा लागत बढी पर्ने भएपछि उद्योगीले उत्पादन कटौती गरेका हुन्। अहिले उद्योगमा मात्र हाेइन, अन्य क्षेत्रमा पनि बिजुली झ्याप्प-झ्याप्प जाने क्रम बढेको छ।
अहिले मुलुकमा निर्माणजन्य गतिविधि बढिरहेको छ। यो सिमेन्ट तथा स्टिलको व्यापार बढ्ने बेला हो। वर्षभरि आर्थिक गतिविधि ठप्प हुँदा उद्योगीले बैंकको ब्याजसमेत बुझाउन सकेका थिएनन्। तर, अहिले छिटफूटरूपमा विकास निर्माण गति लिइरहेको र सिमेन्ट–डण्डीको माग पनि बढिरहेका बेला प्राधिकरणले नियमित बिजुली आपूर्ति नगरेर उत्पादन कटौती गर्नुपर्ने बनाइदिएको उद्योगीहरूको गुनासो छ।
प्राधिकरणले बिजुली भारतमा निर्यात गरिरहेको छ। तर, स्वदेशी उद्योगलाई लाइटिङ लोडमात्रै लिन निर्देशन दिँदा उत्पादन प्रत्यक्ष प्रभावित भएको उद्योगीको भनाइ छ। प्राधिकरणका कारण ३ हजार टन क्षमताका सिमेन्ट उद्योगले कटौती गरेर १७ सय टनमात्रै उत्पादन गर्नुपरेको छ।
सौरभ समूहका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले प्राधिकरणले स्वीकृत लोड नदिँदा औद्योगिक उत्पादन घटाउन ुपरेको बताए। ‘डिजेल किनेर जेनेरेटर चलाएर उत्पादन गर्दा लागत छोइनसक्ने गरी आकासिन्छ,’ न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘प्राधिकरणबाट स्वीकृत भएको लोड पाइँदैन। लाइटिङ लोडमा एसिसमेत चल्दैन।’
एकातिर प्राधिकरणले ऊर्जा उत्पादकको बिजुली किनेको छैन। अर्कोतिर भारत निकासीको नाटक चलिरहेको छ। उद्योगमा लोडसेडिङ छ। जलविद्युत प्रवद्र्धक सूर्यप्रसाद अधिकारीका अनुसार अहिल्यै प्राधिकरणले जलविद्युत आयोजनाबाट बिजुली लिन आधाले कटौती गरेको छ।
मिस्त्री खोला जलविद्युत आयोजनाबाट ४२ मेगावाट बिजुली उत्पादन हुन्छ। तर, प्राधिकरणले आफ्नो प्रसारण लाइनको क्षमता नभएको भन्दै जम्मा २७ मेगावाट बिजुलीमात्रै किनिरहेको छ। बाँकी बिजुली खेर गइरहेको प्रवद्र्धकहरूले बताएका छन्।
‘एकातिर बिजुली नभएर उद्योग नचल्ने र अर्कोतिर उद्योगले बिजुली अभावका कारण उत्पादन कटौती गर्नुपर्ने अवस्था बनिरहेको छ’ न्यौपानेले भने, ‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कस्तो व्यवस्थापन हो? हामीले बुझ्न सकेनौ।’
अहिले उद्योगमा न्यूनतम ८ घन्टाको अघोषित लोडसेडिङ छ। बल्लबल्ल आएको बिजुली पनि दिनभरिमा ३ घन्टा ३९ मिनेट ५५ सेकेन्ड ट्रिपिङ हुने न्यौपानेको भनाइ छ। यो उनकै उद्योगको ट्रिपिङको तथ्यांक हो।
उद्योगले उपलब्ध गराएको तथ्यांकअनुसार असार ३ गते ७ घन्टा लोडसेडिङ भएको थियो भने बल्लबल्ल बिजुली आउँदा ३ घन्टाभन्दा बढी ट्रिपिङको मार खेपेको थियो।
उद्योगका अनुसार असार ६ गते ४ घन्टा १८ मिनेट ५२ सेकेन्ड ट्रिपिङ भएको तथ्यांक छ। त्यसबाहेक ७ घन्टा उद्योगले लोडसेडिङसमेत व्यहोरिरहेको थियो।
न्यौपानेका अनुसार जगदम्बा स्पिनिङ मिल दैनिक ६ पटक ट्रिपिङबाट ग्रसित छ भने ५ घन्टा लोडसेडिङ खेपिरहेको छ। जगदम्बाबाट उत्पादित धागो सतप्रतिशत निकासी हुन्छ। जगदम्बाको सबैभन्दा ठूलो बजार भारत र टर्की हो। उद्योगमा ८ सय जना मजदुर छन्। यो उद्योग पनि ५० प्रतिशत उत्पादन कटौती गर्न बाध्य छ।
घिसिङले प्रणाली सुधार्न कुनै पहलकदमी नलिँदा उद्योगमा बिजुली हाहाकार भइरहेको हो। अहिले भैरहवाका सम्पूर्ण उद्योग, वीरगञ्जका उद्योग र पूर्वका उद्योग लोडसेडिङ र ट्रिपिङबाट हैरान भएका छन्।
उद्योगीले सरोकारबाला निकायलाई बारम्बार बिजुलीको समस्याले उत्पादनमा भएको ह्रासबारे जानकारी गराउँदा पनि कोहीले नसुनेको गुनासो गरेका छन्। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ प्रणालीलाई दोष दिएर बसेका छन्। जबकि, प्रणाली निर्माणमा उनको भूमिकालाई लिएर सवत्र्र आलोचनासमेत भइरहेको छ।
प्राधिकरणका अनुसार बिजुलीको माग बढेर पिकआवरमा २ हजार ४ मेगावाट पुगेको छ।
वृज सिमेन्टमा भएको बिजुली कटौती