सिन्धुली। फिक्कल गाउँपालिकाका किसानले अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यले ‘आइपिएम’ (रसायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरेर खेती गर्नु) प्रविधिबाट खेती सुरु गरेका छन्।
फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सामूहिक सरोकार समाज सिन्धुलीले यहाँका किसानलाई आइपिएम प्रविधिबाट तरकारी खेती गर्न समन्वय गरेको हो।
वर्षातको समयमा हिउँदे धान रोपाइँको चटारो सुरु हुने बेला फिक्कल गाउँपालिका–६ तीनखण्डेका किसान तरकारी खेतीमा व्यस्त देखिन्छन्। विगतका वर्ष धान रोपाइँ हुने खेतमा अहिले लटरम्म तरकारी फलेका छन्।
अघिल्ला वर्ष सिन्धुली र घुर्मी बजारबाट तरकारी किनेर ल्याउने स्थानीयको दैनिकी फेरिएको छ। उनीहरू आफ्नै बारीका तरकारी बिक्री गरिरहेका हुन्छन्। बजारसहित वरपर गाउँका स्थानीय पनि तरकारी किन्न तीनखण्डे आउने गरेका छन्। तीनखण्डेमा आइपिएम किसान पाठशालामा किसानले तरकारी खेती सुरु गरेका छन्। यहाँका ४८ जना किसानले आएपिएम प्रविधि सिक्दै तरकारी खेती गरिरहेका पाठशालाले जनाएको छ।
स्थानीय किसान अंगधन राईले भने, ‘हिजो तरकारी किनेर खाने हामी अहिले अइपिएम प्रविधि सिक्दै लगाएको तरकारीले आय–आर्जनको बाटो देखाएको छ, बजारमा यहाँको तरकारी जान थालेको छ।’ धान रोप्ने सिजनमा खेतमा तरकारी फलेको देख्दा खुसी लागेको उनले बताए।
राईले भने, ‘पैसाको बोट यही तरकारी रहेछ दैनिक टिपेर बजारसम्म पुर्याउनु र तरकारीको रेखदेख गर्नु हिजो आजको दैनिकी बनेको छ। पहिला यतिबेला मकैबाली रुग्ने गरिन्थ्यो अहिले लटरम्म काँक्रा, केरेला, घिरौला, लौका फलेको छ।’ योसँगै काउली खेती गर्ने योजना रहेको उनले बताए।
किसान गंगामाया राईले आइपिएम प्रविधिबाट गरिएको तरकारी खेतीमा आम्दानी बढी हुने भन्दै बजारमा अर्गानिक तरकारी भनेपछि उपभोक्ताले पनि किन्ने गरेको सुनाइन्। ‘अर्गानिक तरकारी खेती गर्नुपर्छ भनेर सुनेको थिएँ। कसरी गर्ने भन्ने थाहा थिएन तर १४ हप्तादेखि आइपिएम प्रविधि सिक्दै तरकारी खेती गरेको छु,’ उनले भनिन्।
तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा तरकारी खेती गरेको गंगामायाको भनाइ छ। उनले तीन रोपनीमध्ये एक रोपनीमा आइपिएम किसान पाठशालामा सिकेको सीपअनुसार तरकारी खेती गरेको बताइन्। परम्परागतरूपमा गरिने तरकारी खेतीमा रोगकीराको प्रकोप बढ्ने भएकाले आइपिएम प्रविधिबाट हालसम्म तरकारीमा रोग र कीरा नलागेको उनको भनाइ थियो ।
बिरुवा हुर्काउने बेला रातो खबटे कीराले दुःख दिएपनि आफैले बनाएको जैविक विषादीले कीरालाई तरकारीमा आउन नदिएको गंगामायाले बताइन्। ‘अहिले विषादीरहित तरकारी खेती गरेका छौँ,’ उनले भनिन्, ‘तरकारीमा कीरा र रोग बढ्दा स्थानीय झारपात, जडीबुटी र गाईबस्तुको मलमूत्रलाई प्रयोग गर्दा रोगकीरा लाग्दैन । झारपात र गाईवस्तुको मलबाट जैविक विषादी बनाउन सिकेका छौँ।’
अंगधन र गंगामाया प्रतिनिधिपात्र मात्र हुन्। तीनखण्डेका सोममाया राई, कृतिमान राई, सुनिता राई, अञ्जना राई, भोकमाया राई, कृष्णप्रसाद पौडेल, जीवनाथ गौतमलगायत दर्जनौँको खेतमा अगौनिक तरकारी फल्न थालेको छ।
अहिले अन्नबालीभन्दा तरकारी खेती गर्ने किसानले योजना बनाइ रहेका छन्। यहाँ बिक्री नभएको तरकारी बजारमा बिक्री हुने अवस्था सृजना भए सबै खेतमा मौसमी तथा बेमौसमी अर्गानिक तरकारी खेती गर्न तयार रहेको किसानको भनाइ छ। स्थानीय सरकारले बजारीकरणमा सहयोग गरिदिनुपर्ने किसानको माग छ।
रासायनिक पदार्थको न्यून प्रयोग गर्दै र मित्रु जिवको संरक्षण गरी वातावरणीय संरक्षण र सुन्तलन कायम राखी शत्रुजीव व्यवस्थापनका धेरै विधि एकैसाथ अपनाउँदै बालीमा लाग्ने रोग तथा कीराको नियन्त्रण गर्ने प्रविधि नै आइपिएम प्रविधि भएको आएपिएम सहजकर्ता लालबहादुर श्रेष्ठले बताए। खेती गर्दा जमिन राम्रोसँग खनजोत गर्ने, बाली चक्र अपनाउने, खेतबारी सरसफाइ गर्ने, रोगकीराका अवषेश नष्ट गर्ने, स्वस्थ बीउ प्रयोग गर्ने, सन्तुलित मल प्रयोग गर्ने, पाकेको गोबर, कम्पोस्ट मलको प्रयोग, रोप्ने समयको हेरफेर, मिश्रित खेती गर्नुपर्ने उनको भनाइ छ।
फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले गाउँपालिकामा उत्पादन हुने तरकारी अर्गानिक उत्पादन गर्न किसानलाई आइपिएम प्रविधि सिकाइएको बताइन्। गाउँपालिकामा पहिलोपटक तीनखण्डेमा सुरुवात भएको आइपिएम प्रविधि पालिकाका सबै किसानको खेत–खेतमा पुग्ने उनले बताइन्।
किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रेरित गरी पालिकालाई अर्गानिक तरकारी उत्पादन क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष सुनुवारले बताइन्। पालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत गाउँपालिकालाई तरकारी, फलफूल, मासु र दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको उनको भनाइ थियो।
कृषिमा प्रविधि र आधुनिक खेती प्रणलीको अवलम्बन गर्दै पालिकाले किसानलाई प्रविधि र प्राविधिकको उपलब्धता गराउँदै आएको अध्यक्ष सुनुवारले बताइन्। ‘कृषि उत्पादनका लागि यस क्षेत्रमा प्रचुर सम्भावना छ। तसर्थ कृषि उद्यमशीलतामार्फत यहाँका युवालाई स्वोरोजगार बनाइ युवा पलायन रोक्ने लक्ष्य लिएका छौँ,’ उनले भनिन्।
तरकारी खेतीका लागि युवालाई सहुलियत कर्जा प्रदान गर्न गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष सुनुवारले जानकारी दिइन्। ‘खेतीयोग्य जमिन बाझिँदै जाने र युवा पलायन हुँदै जाने हो भने समृद्धि हासिल गर्न नसकिने भएकाले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमा गरिरहेका छौँ,’ उनले भनिन्।
पशुमा नश्ल सुधार, गाउँपालिकामा ल्याबसहित एआई प्रविधि, रैथाने बालिकाको संरक्षणलगायत काम भइरहेको अध्यक्ष सुनुवारले जानकारी दिइन्। उनका अनुसार यहाँका एक हजार दुई हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।
महिलालाई आय–आर्जनमा जोड्ने, कृषिमा आधुनिकीकरण गर्नेलगायतका काम गर्दै आएको बताउँदै उनले वडा नं १, २, ३, ४, ५ र ६ मा महिला उद्यम कृषि सहकारी सञ्चालन गरिएको जानकारी दिइन्। उनका अनुसार गाउँपालिकामा ४८ वटा कृषि समूह गठन गरिएका छन्।