काठमाडौं। घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) माथि छानबिन गर्न सुपरिवेक्षण विभाग प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन भएको छ।
नेपाल धितोपत्र बोर्डका सुपरिवेक्षण विभाग प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा बुधबार छानबिन समिति गठन भएको हो।
छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन गर्ने बताइएको छ।
घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि उसको सम्पूर्ण प्रक्रिया रोक्का गरिएको थियो। ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त सेयरका लागि रकम नभएको पाइएको थियो।
प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो।
घोराहीले गत वर्ष साउन १ मा ७९ लाख ४३ हजार कित्ता आइपिओ प्रिमियम मूल्यमा ल्याउने भनेर हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङसँग सम्झौता गरेको थियो।
प्रिमियम मूल्यसहितको आइपिओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीबाट पूर्णआवेदन भने पर्न सकेन।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १ सय ९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६ सय ६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३ सय ३१ कित्ता र कम्पनीका कर्मचारीका लागि ३ लाख ७७ हजार ३ सय ३१ कित्ता बिक्री खुला गरेको थियो।
यसअघि वितरण हुन नसकेको सेयरसमेत थप गरी कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गर्न गरेको खोजेको थियो।