काठमाडाैं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बाढीमा बगेका जलविद्युत आयोजनालाई एक वर्षको ऋण ब्याज मिनाहा गरिदिन सरकारसँग माग गरेकाे छ। त्यसैगरी, बाढीले बगाएका कामदारको परिवारलाई पनि १० लाख क्षतिपूर्ति दिन माग गरेको छ।
असार १ र २ गते पूर्वी नेपालमा आएको बाढीले १९ जलविद्युत आयोजनामा क्षति भएपछि इप्पानले प्रधानमन्त्री र ऊर्जा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। मंगलबार इप्पानले बुझाएको ज्ञापन पत्रमा पहुँचमार्गको तत्काल पुनःनिर्माण गर्न, आयोजनालाई ऋणको अवधि १ वर्ष थप गर्न, पुनः निर्माणको अवधि वा बढीमा १ वर्षसम्म ऋणको ब्याज मिनाहा गर्न आग्रह गरेको छ।
यस्तै सञ्चालन अनुमति र आरसिओडीको म्याद म्याद १ वर्ष थप गर्न, राष्ट्र बैंकमार्फत ५ वर्षका लागि रिफाइनान्सको व्यवस्था गर्न र क्षतिग्रस्त आयोजनाहरूको यथाशक्य बिमा दाबी भुक्तानीको व्यवस्था गरिदिन माग गरिएको छ।
विश्वव्यापी ग्लोबल वार्मिङका कारण परिवर्तन भइरहेको जलवायु परिवर्तनले नेपाल जस्तो उच्च भौगोलिक बनावट तथा कठिन भूगोलमा निर्माण हुने जलविद्युतलगायत हरित उर्जाका संरचनामा पार्ने प्रत्यक्ष भौतिक तथा मानवीय क्षतिको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि इप्पान अध्यक्ष गणेश कार्कीले माग गरेका छन्।
पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लामा आएको विनाशकारी बाढीका कारण त्यसक्षेत्रका हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला नदी बेसिनमा निर्माणाधिन तथा सञ्चालनमा रहेका १९ जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्याएको छ।
बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र माया खोला नदी बेसिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ३ मेगावाट, पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ०.९ मेगावाट, माया खोला १४.९ मेगावाटलगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ। सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन्। अहिलेसम्म ४ जना मृत फेला परेका छन्।
त्यसैगरी ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेसिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला ९.७ मेगावाट, इवा खोला ९ मेगावाट, काबेली बी–१ २५ मेगावाट, काबेली बी–१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १४.९ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२.१ मेगावाट, सुपर काबेली क्यासकेड १२ मेगावाट, काबेली–३ २१.९३ मेगावाट, सुपर काबेली खोला–ए १३.५ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको छ।
बाढीले क्षति पुगेका यी जलविद्युत आयोजनामा निर्माण भइसकेका संरचना बगाउँदा पुनःनिर्माणगर्नुपर्ने अवस्था छ भने सञ्चालनमा आएका आयोजनाको मासिक आम्दानीसमेत गुमेका कारण बैंक तथा वित्तीय संस्थामा ऋण भुक्तानी गर्न नसक्ने अवस्था सृजना भएको इप्पान अध्यक्ष कार्कीले बताए।
क्षति भएका आयोजनाको पुनःनिर्माण कार्य गरी पुरानै अवस्थामा फर्काउन कम्तीमा पनि १ वर्ष समय लाग्ने देखिएकोले यस्तो विषम परिस्थिति तथा दैवी प्राकृतिक प्रकोपका कारण उत्पन्न अवस्थालाई मध्यनजरगर्दै पीडित आयोजनालाई तपशिल अनुसारको राहतको व्यवस्था गर्न इप्पान अध्यक्ष कार्कीले सरकारसँग माग गरेका छन्।