काठमाडौं। २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ।
साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो।
सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाट आयोजनाको अनुमानित लागत ४ अर्ब ४० करोड रुपैयाँ छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमा निर्माण हुने आयोजना यही असारबाटै निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेरमणि नेपालले जानकारी दिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का कार्यसमिति सदस्यसमेत रहेका नेपालले निर्माण सुरु गरेको दुई वर्षमा आयोजनाबाट विद्युत उत्पादन हुने बताए।
वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटका दरले विद्युत खरिद/बिक्री सम्झौता भएको आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत उत्पादन गर्ने छ।
आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात ३४ करोड ८८ लाख रुपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात २७ करोड ४० लाख रुपैयाँ गरी ६२ करोड रुपैयाँबराबरको ऊर्जा उत्पादन हुनेछ।
असार ५ मा भएको वित्तीय व्यवस्थापनमा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जीव न्यौपाने र प्रबन्ध सञ्चालक नेपाल तथा बैंकका आयोजना लगानी प्रमुख भूषण तण्डुकारले हस्ताक्षर गरेका छन्।
रिडी पावर कम्पनीकाे मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ। बाँकी १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्ने छ।