काठमाडौं। आधिकारिक सञ्चालनमा आएको करिब ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एयरलाइन्सले उडान थालेको छ।
उद्घाटन भएको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नभएको भन्दै चौतर्फी विरोध भइरहेका बेला चिनियाँ एयरलाइन्स सिचुआनले पहिलोपटक ‘चार्टर’ उडान गरेको हो। यो उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानको बाटो खुल्ने आशा पर्यटन व्यवसायीको छ।
खासगरी चीन र भारतका विभिन्न सहरमा उडान गर्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिए पनि हालसम्म कुनै पनि एयरलाइन्सले व्यावसायिक उडान गर्न सकेका छैनन्।
पोखरास्थित बाराही ग्रुपका कार्यकारी निर्देशक विप्लव पौडेलले सिचुआनको चार्टर उडानले पोखरेली पर्यटन व्यवसायी र समग्र पर्यटन उद्योगमा उत्साह छाएको बताए।
चीनको चार्टर उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानका लागि बाटो खुल्न लागेको भन्दै चार्टर उडानबाटै थप हौसला मिल्ने धारणा पौडेलको छ।
अधिकांश एयरलाइन्सले कुनै पनि नयाँ विमानस्थलमा नियमित उडानका लागि चार्टर उडान गर्ने गरेकाले सिचुआनले पनि त्यसको प्रारम्भिक चरणको हुन सक्ने उनले बताए।
चिनियाँ ऋण लगानीमा निर्माण भएको उक्त विमानस्थल चिनियाँ कम्पनीले नै निर्माण गरेको हो। चिनियाँ लगानीमा निर्माण भएकाले भारतले उडान अनुमति नदिएको आरोपसमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले खेप्दै आएको छ।
सोही आरोप असत्य सावित गर्नसमेत चीनले सिचुआन एयरलाइन्समार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गरेको हुन सक्ने पर्यटन व्यवसायीको विश्लेषण छ।
पर्यटन व्यवसायी एवं कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय अमात्यले सिचुआनको उडानले चीनका पर्यटक सिधै पोखरा आउने बाटो खुलेको बताए।
‘तर, नियमित उडान नगरेसम्म चिनियाँ पर्यटक आउन सहज हुँदैन,’ सिइओ अमात्यले भने, ‘कुनै टिमले चार्टर गरेर आउन चाहनेका लागि भने सिचुआनको यो उडानले बाटो खोलेको छ।’
पोखरा विमानस्थलबाट चीनका केही सहरमा मात्र नियमित उडान गर्न सके पोखराको पर्यटन क्षेत्र ‘बुम’ हुने अमात्यको विश्वास छ।
पछिल्लो समय पोखरामा चिनियाँ लगानीमा धेरै होटल तथा रेस्टुरेन्ट खुलिरहेका छन्। नेपाल आउने अधिकांश पर्यटकको रोजाइमा पोखरा पर्ने गर्छ। यस्तो बेला सिचुआनको उडानले थप सहज वातावरण बनाउने विश्वास पोखरेली व्यवसायीले लिएका छन्।
चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको ‘न्यारोबडी’ ए३१९ सिरिजको जहाज बुधबार बिहान ९ः०६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो। पोखरा फेवातालमा असार ८ र ९ मा आयोजना हुन लागेको ‘नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी हुने खेलाडीसहित यात्रु लिएर सिचुआन आएको हो।