काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई टेवा पुर्याउन भैरहवामा नेपाल पर्यटन बोर्डले प्रदेश कार्यालय सञ्चालन गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पहलमा आगामी साउन १ देखि सञ्चालनमा आउने गरी प्रदेश कार्यालय स्थापना हुन लागेको हो।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले साउन १ बाट कार्यालय सञ्चालन गर्ने गरी आवश्यक कर्मचारी व्यवस्थापन भइसकेको जानकारी दिए। योसँगै पर्यटन बोर्डको काठमाडौं बाहिर दोस्रो कार्यालयका रूपमा सञ्चालन हुने छ। यसअघि गण्डकी प्रदेशको पोखरामा पर्यटन कार्यालय सञ्चालनमा आइसकेको छ।
बोर्ड सञ्चालक समितिका उपाध्यक्ष चन्द्र रिजालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि समेत पर्यटन कार्यालयले थप टेवा पुग्ने बताए।
हाल नेपाल वायुुसेवा निगम र जजिरा एयरले त्यहाँबाट उडान गरिरहे पनि अन्य वायुसेवालाई आकर्षित गराउन बोर्डको कार्यालयले सहयोग पुर्याउने उनले बताए।
बोर्डले आइतबार पाँच कर्मचारी पठाउने निर्णय गरेको छ। लुम्बिनी प्रदेशका पर्यटनसम्बद्ध संघसस्थासँगको समन्वयमा बोर्डको प्रदेश कार्यालयले पर्यटकीय गतिविधि अध्ययन तथा अनुसन्धान अगाडि बढाउने र कहाँ कस्ता गन्तव्य छन् भन्ने अध्ययन गरी प्रचारप्रसारसँगै सरकारलाई समेत सुझाव दिने उनले जानकारी दिए।
प्रदेश सरकारले पर्यटकीय गन्तव्य विस्तारदेखि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहनसमेत गर्ने भएकाले पर्यटन बोर्डले कार्यालय राखेर काम सुरु गरेपछि निजी क्षेत्रसमेत उत्साही हुने भएकाले धेरै सहज हुने उनको जिकिर छ। बोर्डले प्रदेशसँगै संघीय सरकारलाई समेत त्यस क्षेत्रका पर्यटन गन्तव्य विस्तार र विकासका लागि आवश्यक सुझाव दिने जनाएको छ।
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष एवं नानस होटलका प्रबन्ध निर्देशक सिपी श्रेष्ठले पर्यटन बोर्डको प्रदेश कार्यालय स्थापना भएपछि लुम्बिनीमा वार्षिक २० देखि २५ लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा हुने बताए। त्यस क्षेत्रका पर्यटन व्यवसायीले लामो समयदेखि सरकारलाई पर्यटन बोर्डको कार्यालय राख्न अनुरोध गरिरहेको बेला पर्यटन मन्त्री किराँतीको अगुवाइमा आफ्ना माग सम्बोधन भएको उनले बताए।
‘बोर्डको कार्यालय खुलेपछि छिमेकी भारतदेखि पूर्वी र दक्षिण एसियाका जति पनि बौद्ध धर्मावलम्बी छन्, सबैलाई यहाँ ल्याउन सकिन्छ,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने, ’उहाँहरूकोमा हामी गएर लुम्बिनीमा बोलाउन जाने र अन्य प्रदेशमा समेत पठाउने किसिमका कार्यक्रम गर्ने योजना बनाएका छौं।’
विभिन्न मुलुकमा हुने ‘सेल्स मिसन’ मा निजी क्षेत्रको साझेदारीमा सञ्चालित पर्यटन बोर्डलाई समेत साथमै लिएर जाँदा सम्बन्धित देशका पर्यटक एवं त्यहाँका व्यवसायीको विश्वास अझ धेरै जित्न सक्ने भएकाले लुम्बिनी प्रदेशका लागि धेरै फाइदा पुग्ने बताए।
पर्यटन बोर्ड आएपछि लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागि आवश्यक बजेट व्यवस्था हुँदा पर्यटन प्रर्वद्धनमा सहज हुने बताउदै निजी क्षेत्र आवश्यक सहयोग गर्न सदैव तयार रहेको श्रेष्ठको भनाइ छ।