काठमाडौं। नेपाल बिमा प्राधिकरणले कृषि बिमाको ७४ करोड रुपैयाँ अनुदान वितरण गरेको छ। प्राधिकरणले पशुपंन्छी बिमाको ६९ करोड र कृषि बिमाको ५ करोड गरी कूल ७४ करोड रुपैयाँ अनुदान वितरण गरेको हो। केही समयअघि कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले अनुदान रकम उपलब्ध नगराएको भन्दै निर्जीवन बिमा कम्पनीहरुले कृषि बिमा कारोबार नै ठप्प पारेका थिए।
त्यसपछि गत जेठ तेस्रो साता बसेको बिमा प्राधिकरण, बिमक संघ र मन्त्रालयको संयुक्त बैठकले पहिलो चरण अन्तर्गत ७४ करोड रुपैयाँ अनुदान रकम भुक्तानी गर्ने निर्णय गरेको थियो। जसअनुसार कृषि विभाग र पशुपन्छीं विभागबाट रुजु भएर आएका बिमालेखहरुको रकम भुक्तान भएको हो।
‘प्राधिकरणले कृषि बिमाको ७४ करोड रुपैयाँ अनुदान हालै वितरण गरेको छ। जसमा पशुपन्छींको ०७८ असार र कृषिको चैतसम्मको रहेको छ,’ प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञावली श्रेष्ठले क्यापिटल नेपालसँग भनिन्, ‘अब कृषि विभाग र पशुपन्छीं विभागबाट रुजु भएर आएपछि दोस्रो चरण अन्तर्गतको रकम पनि भुक्तान हुन्छ।’ उनले भुक्तानी गर्नुपर्ने रकम ३ अर्ब रुपैयाँ रहेको र दोस्रो चरणमा ४२ करोड रुपैयाँ भुक्तानी गर्ने योजना रहेको सुनाइन।
नेपाल बिमक संघले सरकारबाट शिखर इन्स्योरेन्सको ५९ करोड ३८ लाख, आइएमई प्रुडेन्सियलको ४९ करोड ८७ लाख, एनएलजी इन्स्योरेन्सको ३३ करोड ७७ लाख, नेको इन्स्योरेन्सको ३० करोड १९ लाख, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको २३ करोड ३४ लाख र हिमालयन एभरेस्ट इन्स्योरेन्सको १६ करोड ५६ लाख रुपैयाँ अनुदान वापतको रकम भुक्तान हुन बाँकी रहेको जनाउँदै कृषि बिमा कारोबार ठप्प पारका थिए।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १५ करोड ९६ लाख, अजोड इन्स्योरेन्सको १५ करोड ९२ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड १६ लाख, ओरियन्टल इन्स्योरेन्सको १० करोड ६८ लाख, सानिमा जिआइसी इन्स्योरेन्सको ९७ करोड, प्रभु इन्स्योरेन्सको ६४ करोड र राष्ट्रिय बिमा कम्पनीको २५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको संघले उल्लेख गरेको थियो।
कृषि बिमामा हुने जोखिमभार कम गरी कृषकको आर्थिक उन्नति तथा शाख कायम राखी निर्वाहमुखी कृषि पेसातर्फ उन्मुख गराउने उद्देश्यले २०६९ सालबाट कृषि तथा पशुपन्छीं बिमाको सुरुवात गरिएको हो। सुरुमा कृषि तथा पशुपन्छीं बिमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था भए पनि यसलाई बढाएर ७५ प्रतिशत बनाइएको थियो। तर, गत आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन बजेटदेखि भने कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ।
तर ०७७ देखि कृषि तथा पशुपन्छीं बिमाको अनुदान भुक्तान नभएको भन्दै बिमा कम्पनीहरुले गुनासो गर्दै आएका छन्। बिमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्म १ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कम्पनीहरुले एक लाख ३५ हजार ४३ बिमालेख बिक्री गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चैतसम्म कोशी प्रदेशबाट १८ हजार ५ सय ३४ बिमालेख बिक्री गरी २२ करोड २० लाख ४८ हजार, मधेस प्रदेशबाट ९ हजार १ सय ४५ बिमालेख बिक्री गरी १६ करोड ७४ लाख ६१ हजार, बागमती प्रदेशबाट ५१ हजार ९१ बिमालेख बिक्री गरी ६६ करोड ८२ लाख ५६ हजार र गण्डकी प्रदेशबाट १४ हजार ८ सय ४३ बिमालेख बिक्री गरी २३ करोड १५ लाख ६६ हजार रुपैयाँ शुल्क आर्जन गरेका छन्।
त्यस्तै लुम्बिनी प्रदेशबाट २६ हजार ९ सय ९५ बिमालेख बिक्री गरी २७ करोड ४ लाख ५२ हजार, कर्णाली प्रदेशबाट १० हजार १ सय १० बिमालेख बिक्री गरी १९ करोढ ७९ लाख ९३ हजार र सुदूरपश्चिम प्रदेशबाट ४ हजार ७ सय २५ बिमालेख बिक्री गरी ५ करोड ७३ लाख ४१ हजार रुपैयाँ शुल्क आर्जन गरेका छन्।