काठमाडौं। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो।
महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको छ। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ। राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ।
महानगरपालिका ४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये ४ अर्ब ७७ करोड रुपैयाँ उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब रुपैयाँ बढी भएको विभागले जनाएको छ।
विभागका अनुसार आव २०७८/७९ मा महानगरले ३ अर्ब ७२ करोड रुपैयाँ मात्रै आन्तरिक आय सङ्कलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा १ अर्ब ९२ करोड १२ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
चालु आवमा महानगरपालिकाले यो शीर्षकमा २ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जुन अघिल्लो आवको भन्दा १२ करोड रुपैयाँ बढी भएको जनाइएको छ।
महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ। यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट १ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ जम्मा गरेको छ।
राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै १ अर्ब रुपैयाँ कमी भएको देखिन्छ। गत आव २०७८/७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १ अर्ब ७५ करोड ५४ लाख थियो, जनु एक सय छ प्रतिशत रहेको थियो। तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो। रासस