विराटनगर। आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन्।
मोरङ व्यापार संघको ६६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भने, ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने? जमिन बाँझो छाड्ने? विदेशबाट किनेर मात्रै खाने? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं। आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन। यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन्। आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन।’
‘अर्थतन्त्रमा विराटनगर माथि रहेकोमा अहिले तल झर्दै गएको उनले बताए।। ‘मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रूपमा विकासित हुन्छ’ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवर्द्धनका लागि नेपाल सरकार सम्पूर्णरूपले साथमा रहन्छ।’
कार्यक्रममा अर्थमन्त्रीले भने, ‘हाम्रो अर्थतन्त्रमा समस्या छन्, यसअघि पनि मैले भनेकै हुँ, अहिले पुँजीगत खर्च कम भइरहेको छ। साधारण खर्च घटाउन सकिएको छैन। हाम्रो सामाजिक सुरक्षा र दायित्व बढी छ। विभिन्न किसिमका सौलियत, भत्ता हामीले प्रतिस्पर्धा गरेर नै दिऔं। हाम्रो अर्थतन्त्रले कति धान्न त्यतातिर ध्यान दिएनौं, तर हामीले दिने प्रतिबद्धता गरें, त्यो प्रतिबद्धताबाट पछाडि हट्ने अवस्था रहेन। त्यसैले साधारण खर्च घटाउन सक्ने अवस्थामा हामी थिएनौं, तर प्रशासनिक खर्च हामीले कम गर्ने कोसिस गरेका छौं।’
विश्व बैंक र एसियाली विकास बैंकको सहयोग श्रोत पश्चिम दाङको लमहीदेखि पूर्व काँकटभिट्टासम्म निर्माणमा खर्च हुँदैछ। बजेटले कोशी प्रदेशलाई समेटेको छ भनेर हिसाब राख्न उनले अनुरोध गरे। उनले भने, ‘पूर्वपश्चिम विस्तार सडक र उत्तर–दक्षिणको सडक निर्माणले यो क्षेत्रको कायापलट हुन्छ भन्ने मलाई विश्वास छ। साथै विराटनगरको रिङरोडले विकासमा यो महानगरलाई विशिष्ट स्वरूप दिन मद्दत पुग्नेछ।’
हालै सार्वजनिक भएको बजेट दुई महिनाको अवधिमा बनाएको बताउँदै उनले भने, ‘सिस्टमलाई रूपान्तरण गर्न धेरै कुराको अभ्यास हुन जरुरी छ। त्यो अभ्यास गर्ने समय मसँग थिएन। जति समय मैले प्राप्त गरें, त्यो समय मैले भरपूर उपयोग गरेर इमान्दारीपूर्वक बजेट तयार गरेको हुँ।’