काठमाडौं। सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ता मिनु कंडेलले ठट्यौली शैलीमा ट्विट गरिन्, ‘प्याज किन्न सक्नेलाई मात्रै छोरी दिने भनेर भन्दैछिन् पल्लाघरे काकी।’
त्यस्तै, टिवटर प्रयोगकर्ता निर्मल प्रसाईं व्याङ्ग्यात्मक शैलीमा लेख्छन् ‘रु. ३५ मा बिकिरहेको प्याज रु. १३५ पुग्यो, अन्य खाद्यन्नको मूल्यवृद्धि पनि ट्रिपल गतिमा छ। जहिले–जहिले सरकार जाग्छ, मूल्यवृद्धि उपहार ल्याउँछ।’
अर्का ट्टिर प्रयोगकर्ता ‘रुपेश’ ले आक्रोश पोख्दै लेखे, ‘प्याजको बजार मूल्य रु. ४० मा १३ प्रतिशत भ्याट जोडेर लिँदा ५.२ हुँदोरहेछ। अनि बजार भाउ १३० कसरी भयो ए डाका, लुटेरा व्यापारीहरू हो..?’
पछिल्लो समय एकाएक प्याजको भाउ आकासिएपछि सर्वसाधारण सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरिरहेका छन्।
सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलुलगायतका अन्य कृषिजन्य वस्तुमा भ्याट लगाउने व्यवस्था गरिएको छ। यसबाट आयात निरुत्साहित भई आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउँदै आएका छन्।
सरकारको यो निर्णयले आन्तरिक उत्पादन बढ्ने/नबढ्ने त पछि थाहा होला। तर बजारमा प्याजको मूल्य भने आकासिएको छ। बजेटअघि प्रतिकेजी ४०/४५ रुपैयाँमा पाइने प्याज अहिले किलोको एक सयभन्दा धेरैमा बिक्री भइरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा चीन र भारतबाट १० करोड १० लाख ३५ हजार रुपैयाँबराबरको १२ लाख ५६ हजार ४ सय ८३ किलो प्याज आयात भएको छ। जसबाट सरकारले १ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेभन्दै सरकारले आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लगाएपछि यसको मूल्य भने सतप्रतिशतभन्दा धेरै बढेको हो।
सरकारको यो निणर्यको चर्को आलोचना भए पनि अर्थमन्त्री डा. महतले भने यसको बचाउ गर्दै आएका छन्। २९ जेठ २०८० मा संसदमा बोल्दै अर्थमन्त्री डा. महतले नेपाली किसानको हितका लागि यो निणर्य गरेको बताए।
‘सामान्य आलु तरकारी पनि विदेशबाट किनेर खाने? स्वदेशी उत्पादनलाई प्रोत्साहन किन नगर्ने? हाम्रो उद्योग व्यवसायलाई जोगाउने प्रोत्साहन गर्न कर पनि एउटा औजार हो,’ उनले भनेका थिए, ‘हामीले किसानलाई अनुदान दिनेलगायतका काम पनि गरेका छौं र त्यो सगँसगैँ करबाट पनि नेपाली उत्पादनलाई संरक्षण गरेका छौं। यसरी दोहोरो संरक्षण गर्ने हो भने नेपालकै सानो स्केलको उत्पादन बढाउन प्रोत्साहन हुन्छ।’
गत महिनाको २१ गतेदेखि कालीमाटी तरकारी बजारमा प्याज नभित्रिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए। ‘हिजोसम्म यो बजारमा प्याज आएकै छैन। त्यसकारण बजारमा भएका प्याजमा भ्याट जोडिने कुरै भएन,’ उनले भने, ‘यो बाहिरीरूपमै स्थानीय बजारमा पुर्याउनेहरूले बढाएको हुनसक्छ।’
नेपालमा प्याज उत्पादन खासै नहुने भएकाले १३ प्रतिशत भ्याटले प्याजलाई केही महंगो बनाउने उनको तर्क छ। ‘भ्याटको अन्यौलको कारण करिब १५ दिनदेखि प्याज आएको छैन। धेरै दिनपछि आज दिउँसो ४ बजेसम्म करिब ८३ टन आएको छ। भोलि हामी मूल्य सार्वजनिक गर्छौं,’ उनले भने, ‘भ्याट लागेपनि मूल्य ४० देखि ६० रुपैयाँभन्दा धेरै पर्दैन। अहिले १ सय ५० सम्म पनि पर्यो भन्ने सुनियो। यो अनुचित फाइदा उठाउनेले कालोबजारी गरेको हुनसक्छ।’ प्याजको फेस, कटिङ आदि नियाल्यो भने उपभोक्ताले सजिलै नेपाली र भारतीय प्याज चिन्न सक्ने उनले जानकारी दिए।
प्याजमा १३ प्रतिशत भ्याट लागेपछि व्यापारीले स्टकमा रहेको र नेपाली प्याजमै मूल्य बढाएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्। ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु राम्रो हो। तर, भ्याट लगाउनुभन्दा अघि हामी आत्मनिर्भर हुनुपर्छ। हामी आफैंमा आत्मनिर्भर नभई यसरी भ्याट लगाउने हो भने उपभोक्ता यसरी नै मारमा पर्छन,’ उनले क्यापिटल नेपालसगँ भने। आयातित प्याजमा भ्याट लागेपछि विचौलियाले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएको उनको भनाइ छ।
प्याजको मूल्य अस्वभाविक बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि ध्यानाकर्षण भएको छ। विभागले असार १ मा सूचना जारी गर्दै पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई उपभोक्ता संरक्षण ऐन २०७५ ले तोकेबमोजिम कारोबार गर्न आह्वान गरेको छ। ऐनले तोकेभन्दा धेरै नाफा लिए त्यस्ता व्यक्तिलाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म तत्काल जरिवाना लगाउन सकिने व्यवस्था ऐनमा छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरिरहेको र कसैले कालाबजारी गरेको प्रमाणित भए तत्काल कारवाही गरिने विभागका प्रवक्ता होमनाथ भट्टराइले जानकारी दिए।
‘भन्सार बिन्दुसम्मको मूल्य, त्यहाँबाट काठमाडौं ल्याउनसम्मको खर्च, लोड÷अनलोडको खर्च, गोदामको खर्चलगायत जोडेर कानुनले तोकेको नाफा राख्न पाइन्छ। अनुगमनका क्रममा त्योभन्दा धेरै नाफा राखेको थाहा पाए विभागको टोलीले छाड्नेवाला छैन,’ प्रवक्ता भट्टराइले भने।
त्यस्तै भ्याट लाग्नुभन्दा पहिलेको स्टकको प्याज र नेपालमा उत्पादन भएको प्याजमा पनि बढी मूल्य लिएको थाहा पाए तत्काल कारबाही हुने भट्टराईले स्पष्ट पारे।