काठमाडौं। सरकारले एकसाथ चार देशसँग हवाई सेवा सम्झौता प्रक्रिया अघि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले स्विजरल्यान्डका लागि हवाई सेवा सम्झौता गर्न पराष्ट्र मन्त्रालयबाट राय आइसके पनि बाँकी तीन देशको बाँकी रहेको बताए।
पर्यटन मन्त्रालयले स्विजरल्यान्ड, रुवान्डा, इन्डोनेसिया र कुवेतसँग हवाई सेवा सम्झौता गर्न आवश्यक तयारी गरी परराष्ट्र मन्त्रालयमा रायका लागि पत्र पठाएको जनाएको छ। तीमध्ये कुवेतसँग सम्झौता नवीकरण गर्ने र अन्य तीनसँग भने नयाँ सम्झौता प्रक्रिया अगाडि बढाएको सहसचिव लामिछानेले जानकारी दिए।
पराराष्ट्रले केही समयअघि स्विजरल्यान्डसँग हवाई सेवा सम्झौताका लागि आवश्यक राय सुझावसहित सहमतिपत्र पठाएको उनले बताए।
योसँगै अब स्विजरल्यान्डसँग सम्झौताको प्रक्रिया अगाडि बढ्ने भएको छ। दुई मुलुकसँगको सम्झौताका लागि मन्त्रिपरिषदको स्वीकृति चाहिन्छ। त्यसका लागि पर्यटन मन्त्रालयले पर्यटनमन्त्री सुदन किराँतीमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नेछ।
सहसचिव लामिछानेका अनुसार हवाई सम्झौताका लागि केही समयभित्रै पर्यटनमन्त्री किराँतीले प्रस्ताव पठाउन लागिएको बताएका छन्। मन्त्रीपरिषदले हवाई सम्झौताका लागि स्वीकृति दिएपछि स्विट्जरल्यान्डसँग सिधा उडानका लागि प्रक्रिया अगाडि बढ्ने छ।
हवाई सम्झौता भएपछि नेपाली एयरलाइन्सहरूले स्विट्जरल्यान्डमा सिधा उडान गर्न पाउने छन् भने त्यहाँका एयरलाइन्सहरूले पनि यहाँ उडान गर्न पाउने छन्। सहसचिव लामिछानेले स्विट्जरल्यान्डसँगको हवाई सम्झौतामा साताको कति उडान हुने र महिनामा कति गर्ने भन्ने विषयमा दुई देशबीचको सहमतिपछि मात्र टुंगोमा पुगिने बताए।
सुरुमा सम्झौताका लागि सहमति लिनु नै ठूलो विषय भएकोले कति उडान गर्ने र कहिलेबाट गर्ने भन्ने विषयको टुंगो पछिमात्र लाग्ने बताए।
पर्यटन मन्त्रालयले हवाई सम्झौता गर्दै हवाई यात्राका लागि बाटो खुलाए पनि सिधा उडान गर्ने वा नगर्ने भन्ने निर्णय भने सम्बन्धित एयरलाइन्सहरूको रहनेछ। अहिले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। हवाई सम्झौता सफल भएमा स्विट्जरल्यान्डबाट स्विस एयरले नेपालमा उडान गर्ने इच्छा देखाएको पर्यटन मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
रुवान्डा दोस्रो अफ्रिकी मुलुक
सन १९९७ मा इजिप्टसँग हवाई सेवा सम्झौता गरेको नेपालले रुवान्डासँग हवाई सम्झौता भए अफ्रिकी मुलुकको दोस्रो हुने छ। इजिप्टसँग सम्झौता भए पनि उडान भएको छैन्। नेपालले ४० वटा मुलुकसँग हवाई सम्झौता गरिसकेको छ। पछिल्लो समय अस्ट्रेलियासँग हवाई सम्झौता गरेको नेपालले नेपाल वायुसेवा निगमको जहाज उडानका लागि स्लट पाइसकेको छ।
अष्ट्रेलियाको सिड्नी विमानस्थलमा बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ।