काठमाडौं। सेयर बजारमा सोमबार झिनो अंकको गिरावट आएको छ। सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो।
त्यसो त नेप्सेले सोमबार इन्ट्रा डेमा २१ सय विन्दुको मनोवैज्ञानिक रेखा क्रस गर्न सफल भयो। बजार खुल्ने बित्तिकै सूचक २१ सय विन्दुमाथि पुगेको थियो । तर यसरी बजारले माथिल्लो विन्दु तय गर्ने बित्तिकै ट्रेडरहरु हावी भइहाले। उनीहरुले प्रोफिट बुक गर्न लाग्दा फेरि सूचकले केही दबाबको सामना गर्नुपर्यो । फलस्वरुपः नेप्से सूचक पुनः २१ सय विन्दुभन्दा तल झर्यो।
समग्रमा सोमबार दिनभर सूचक उतारचढाव भइरह्यो। एकातिर क्रेताहरु हावी हुँदा बजार माथितिर जाने पटकपटक पहल गर्यो। फेरि, त्यही बेला नाफा बुक गर्न चाहने अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय रहे। यसरी कारोबार अवधिभर क्रेता र बिक्रेताबीच राम्रैसँग घम्साघम्सी चलेको देख्न सकिन्थ्यो।
तर समग्रमा हेर्ने हो भने पछिल्ला दिनहरुमा सेयर बजारमा सकारात्मक माहोल बनिरहेको छ। अहिलेको बजारको सबल पक्ष भनेको सूचकमात्र नभई कारोबार रकमले पनि तेजी लिनु हो।
क्रमशः माथिल्ला विन्दुहरु तय गरिरहेको सेयर बजारमा कारोबार रकम वृद्धि हुँदै गएको छ । दिनहुँ कारोबार रकममा उत्साह देखिनुको अर्थ एकातिर पुराना लगानीकर्ता बजारमै रहन चाहेका छन् भन्ने बुझ्न सकिन्छ ।
कुनै कम्पनीमा नाफा बुक गरे पनि फेरि अर्कोमा प्रवेश गर्नु तर बजारबाट बाहिर जान नचाहनु नै हो । अर्कोतिर बजार बढ्दै जाँदा क्रमशः नयाँ लगानीकर्ताको बजारमा प्रवेश हुनु हो ।
केही दिनयता बढेको बजारमा थप लाभ लिन सकिन्छ भन्ने विश्वाससहित विस्तारै नयाँ लगानीकर्ताको पनि प्रवेश हुन थालेको विश्वास गरिएको छ । यसले कारोबार रकममा वृद्धि गर्न सफल भएको हो । यसले बजारलाई क्रमशः नयाँ उचाइतिर लैजाने विश्वास गर्न सकिन्छ ।
तर बजार एकोहोरो हिसाबले बढ्ने वा घट्नेमात्र पनि गर्दैन । केही करेक्सन हुँदै समग्र यात्रा माथितिरको हुने हो । बैंकमा निक्षेप थुप्रिंदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन ।
ट्रेजरी बिलको रेट पनि निकै तल आइसकेको छ । तरलता सहज हुँदै जाँदा आगामी दिनमा निक्षेप र कर्जा दुवैतिरको ब्याजदर थप घट्ने देखिएको छ । जानकारहरुका अनुसार तरलता सहज हुने र ब्याजदर घट्ने अवस्थामा सेयर बजार माथि जाने नै गर्छ ।
यसले पनि सेयर बजारमा सुधारका लागि थप मनोबल बढाउन सक्ने देखिन्छ । तर आम लगानीकर्ताले राम्रो वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । अलि लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने, जोखिम बहन क्षमतमा ख्याल गर्न पनि अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
यस दिन २७६ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् ।