काठमाडौं। वर्षौंसम्म कर्जा असुली नभएर खराब कर्जामा परिणत भएका ऋण उठाउन बैंकहरू स्किम ल्याइरहेका छन्। लामो समयसम्म कर्जा असुली नहुँदा खराब कर्जा बढेपछि बैंक लाग्ने ब्याजमा ५० प्रतिशतसम्म मिनाह गरेर भए पनि मुल पुँजी उठाउन लागिपरेका छन्।
‘कतिपय कर्जाहरू ‘क्रोनिक’ बनिरहेका छन्, त्यस्ता कर्जा उठाउन बैंकहरूले बढी ध्यान दिइरहेका छन्,’ एक बैंकरले भने, ‘असुली नै हुन नसक्ने कर्जा उठाउन बैंकहरूले लाग्ने ब्याजमा ३० देखि ५० प्रतिशतसम्म मिनाह गरिरहेका हुन्।’
उदाहरणका लागि कुनै कर्जाको ब्याज ५० लाख रुपैयाँ छ र त्यस्तो कर्जा असुली भएको छैन भने बैंकले २५ लाख रुपैयाँ ब्याज लिएर साँवा असुली गर्ने प्रयत्नमा जुटेको हो।
अहिले मुल पुँजी नै नउठ्ने सम्भावना बढेको छ। बैंकले त्यसबापतको सतप्रतिशत प्रोभिजन गरिसकेका छन्। प्रोभिजन गर्नु भनेको बैंकले कमाएको पैसा छुट्याउनु हो। प्रोभिजन गर्दा बैंकको नाफा प्रभावित हुन्छ भने अर्कोतिर मुल कर्जा पनि उठ्दैन।
नियामकीय व्यवस्थाअनुसार असल कर्जामा १.३ प्रतिशत, सुक्ष्म निगरानीमा रहेको कर्जाको हकमा ५ प्रतिशत, कमसल कर्जाको हकमा २५ प्रतिशत, शंकास्पद कर्जाको हकमा ५० प्रतिशत र खराब कर्जाको हकमा सतप्रतिशत प्रभिजन गर्नुपर्छ।
बैंकहरुले कमाएको ठूलो रकम प्रोभिजनमा गएपछि बैंकरहरूले ब्याज मिनाहको स्किम चलाएका हुन्। उनीहरूले उक्त स्किमलाई सार्वजनिक नगरे पनि भित्रभित्रै ऋणीलाई फोन गरेर यस्तो खाले व्यवस्था गरिएको छ, पूरानो कर्जा तिर्नुस् भन्दै बोलाउन थालेका छन्। खासगरी, व्यवस्थापकीय कमजोरीका कारण फसेका ऋण उठाउन बैंकले यस्तो अभियान चलाएका हुन्।
अहिले अधिकांश बैंकहरू मर्ज भएर कारोबार गरिरहेका छन्। सुशासन नभएका बैंक सुशासन भएका बैंकसँग मिल्दा राम्रा बैंकसमेत एनपिए बढ्ने देखिए पछि उनीहरूले पुराना कर्जा असुलीका लागि नयाँ उपाय अपनाएका हुन्।
२०७२ साल पछि नेपालमा बैंक तथा वित्तीय संस्थाले ठूलो मात्रामा कर्जा लगानी गरेको देखिन्छ। यो बीचमा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जालमा पनि अत्यधिक वृद्धि भई कर्जा पनि उल्लेख्यमात्रामा वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाबीचको प्रतिस्पर्धाले ग्राहक सहजै बैंकिङ पहुंचमा पुग्न सफल भए पनि यसले कर्जाको गुणस्तरमा कमी ल्याउँदा कर्जा नउठ्ने दर बढ्दै गएको बैंकरहरू बताउँछन्।
जसले गर्दा निश्क्रिय कर्जा बढ्न गएको थियो। निश्क्रिय कर्जा बढ्दै जादा देशको अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने भएकोले निश्क्रिय कर्जा असुल उपर गर्न बैंकरहरूले स्किम अफर चलाएका हुन्।
ब्याजदर र निश्क्रिय कर्जाबीच सकारात्मक सम्बन्ध रहन्छ। ब्याजदर बढेमा निश्क्रिय कर्जा पनि बढ्छ भने ब्याजदर घटेमा निश्क्रिय कर्जा घट््छ। तर, नेपालको बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा निश्क्रिय कर्जा बढेको देखिंदैन।
बैंकरका अनुसार अहिले कुमारी, प्रभू, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेघा, हिमालयन, एनआइसी एसियालगायत बैंकले क्रोनिक कर्जा उठाउन सक्रियता देखाएका छन्। वर्षौंदेखिका ऋणीलाई फोन गरेर ब्याज मिनाह दिन्छु, पुरानो कर्जा चुक्ता गर्नुस् भन्दै बैंकबाट लगातार फोन जान थालेको छ।
पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्ने क्रमले निरन्तरता पाइरहेका बेला बैंकहरूले फरक खाले अभ्यास लागू गरेका हुन्।
ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालू आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्म वाणिज्य बैंकको खराब कर्जा ३.०३ प्रतिशतभन्दा माथि पुगेको थियो।
गत असोज मसान्तसम्म १.७७ प्रतिशत र पुस मसान्तसम्म २.४९ प्रतिशत रहेको वाणिज्य बैंकको खराब कर्जा अनुपात चैत मसान्तसम्म आइपुग्दा ३.०३ प्रतिशत पुगेको हो। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.४१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात १.२१ प्रतिशत थियो।
यस्तै गत पुस मसान्तसम्म २.८२ प्रतिशत रहेको विकास बैंकहरूको खराब कर्जा अनुपात चैत मसान्तसम्म ४.४२ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्ष सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको खराब कर्जा २.१९ प्रतिशत थियो।
विशेषगरी पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकहरूको खराब कर्जा अनुपात बढ्न गएको हो। महँगी, व्यवसायमा आएको संकुचनका कारण ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ।