काठमाडौं। आइतबार डिल्लीकुमार बेगालाई सदा झैँ हतार छ। फार्मबाट गोलभेडा टिपेर बजार पठाउनु छ। सबै गोलभेडा टिप्न भ्याएका पनि थिएनन्, उनलाई कालिमाटीका होलसेल व्यापारी ज्ञानेन्द्र श्रेष्ठको फोन आयो।
‘डिल्ली जी, तपाईं कालिमाटी आउनुपर्यो। तपाईंले हिजो, अस्ती ल्याउनु भएको गोलभेँडा पनि बिकेन। कुहिन लाग्यो। हामीले फाल्न लाग्या,’ फोनबाटै ज्ञानेन्द्रले भने।
यति सुन्ने बित्तिकै उनले गोलभेँडाको क्यारेट फार्ममै छाडेर दुई गाँस भात टिपेर कालीमाटी हानिए।
लगनखेल आइपुग्दा उनलाई फेरि ज्ञानेन्द्रको फोन आयो। गोलभेडा डम्प गरिसकेकाले आउनु नपर्ने उनलाई जानकारी दिइयो।
आफूले पसिना बगाएर फलाएको गोलभेँडा सडकमा फालियो भन्ने सुन्दा उनी कालिमाटी नगई बस्न सकेनन्। सिधै होलसेल स्टलतर्फ लागे ज्ञानेन्द्र। नभन्दै भुईंमा गोलभेँडाको थुप्रो थियो। डिल्लीको मन खिन्न भयो। गोलभेडाको थुप्रो कटेर उनी तरकारी स्टलतर्फ लागे।
स्टलमा पुगेपछि भने उनी छागाँबाट खसे झैं भए। ती स्टलहरूमा भारतीय गोलभेँडा प्रतिकिलो ४० देखि ६० रुपैयाँसम्म बिक्री हुँदै थियो। ‘कृषिमा क्रान्ति भनेको त नेताहरूको भाषणमात्रै रैछ। भारतीय गोलभेँडाले राम्रो मूल्य पाउँदा हाम्रो उत्पादन फाल्नुपर्ने अवस्था किन आयो?,’ डिल्लीले प्रश्न गरे।
‘हामीले हाम्रो उत्पादन आफैं उपझोक्तासम्म पुर्याउन सक्दैनौं। उनले क्यापिटल नेपालसगँ भने, ‘त्यसका लागि व्यापारीको सहयोग चाहिन्छ। व्यापारीले बढी नाफको लोभमा हाम्रो उत्पादनलाई अपहेलना गरेको जस्तो लाग्छ।’
गोलभेँडा उत्पादनका लागि औषधी, मलखाद, प्लास्टिक, श्रमलगायतमा अत्याधिक खर्च भए पनि बजार मूल्यले ढुवानी खर्च पुर्याउन पनि धौ–धौ पर्ने उनको गुनासो छ।
यस्ता छिटै नस्ट हुने तरकारीका लागि सरकारले पनि बेवास्ता गरेको उनले बताए। ‘गोलभेँडाको प्यूरी, सस बनाउन सकिन्छ। तर, त्यस्तो उद्योग गर्न लगानी धेरै लाग्छ र बजारीकरण गर्न किसानको पहुँच छैन,’ डिल्लीले भने।
चार वर्षपछि वैदेशिक रोजगारीबाट फर्किएर विगत १० वर्षदेखि ७ रोपनिमा तरकारी खेती गरेर बसिरहेका डिल्ली यो पेसाबाट पलायन हुने सोचमा छन्। ‘कतार र मलेसियाबाट पैसा कमाएर दुई लाखबाट खेती सुरु गरेको थिएँ। यो अवधिमा मैले कमाएको भनेको २० लाख ऋणमात्र हो। अब यही ऋण तिर्न विदेश जानुपर्ने अवस्था आइसक्यो,’ उनले निराश हुँदै भने।
नेपाली गोलभेँडाको उत्पादन धेरै भएकाले बिक्री नभएको कालिमाटी तरकारी बजारका व्यापारी ज्ञानेन्द्र श्रेष्ठ बताउँछन्। ‘यसपाली गोलभेँडा उत्पादन धेरै भयो,’ उनले भने, बिक्री कम भएपछि व्यापारीले सीमितमात्र खरिद गर्नुपर्ने अवस्था छ।’
गत वर्ष यही मौसममा ४०/४५ रुपैयाँ होलसेलको गोलभेँडा उत्पादन धेरै भएपछि ८/१० रुपैयाँमा झरेको श्रेष्ठले बताए। गोलभेँडा व्यापारीले डम्प गरेको नभई मू्ल्य नआएपछि किसानले नै डम्प गरेको श्रेष्ठ दाबी गर्छन्। ‘हामीले लिन सक्ने जति लियौं। बाकीँ गोलभेँडा किसानले नै होल्डिङ एरियामा डम्प गुर्नभएको हो,’ उनले भने।
कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार हाल भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ६० रुपैयाँ छ। त्यस्तै नेपाली टनेल गोलभेँडाको भने न्यूनतम मूल्य प्रतिकिलो ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ छ।
किसानले आइतबार करिब ३० हजार किलो गोलभेँडा फ्याकेको अनुमान गरिएको छ। किसानहरूले नै कालिमाटी तरकारी बजार परिसरभित्र र बाहिर पनि गोलभेँडा फ्याकेर विरोध जनाएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए। ‘यो समस्या हामीले मात्र हल गर्न सक्दैनौं। ठूलो बजार भएकाले हामीले किसानलाई ठाउँ उपलब्ध गराउनेमात्र हो,’ उनले भने।
नेपाली र भारतीय गोलभेँडाको प्रयोजन फरक भएकाले नेपाली गोलभेँडाको मूल्य कम भएको श्रेष्ठको तर्क छ। ‘भारतीय ठूला गोलभेँडा होटल, रेस्टुरेन्टमा जान्छ। त्यसकारण मूल्य राम्रो छ,’ उनले भने, नेपाली गोलभेँडा घरायसी प्रयोजनका लागिमात्र प्रयोग हुने र उत्पादन धेरै भएका कारण मूल्य पाउन सकेन।’
सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलुलगायतका वस्तुमा भ्याट लगाउने निर्णय गरेको थियो। यसबाट आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका थिए। तर, सिजनमै छ्याप्छ्प्ती भारतीय गोलभेँडा भारतबाट आयात भएपछि किसान मारमा परेका हुन्।
कम्तीमा सिजनमा भारतीय तरकारी आयातमा रोक लगाउनुपर्ने डिल्लीको तर्क छ। ‘हामी सधैं भारतीय तरकारी रोक लगाउनु पर्छ भन्दैनौं,’ उनले भने, ‘तर, नेपालमा उत्पादन हुने सिजनमा भारतीय उत्पादन रोकियो भने किसानलाई केही हदसम्म राहत हुन्छ।’