काठमाडौं। साँवा/ब्याज तथा किस्ता असुलीमा आक्रामक बनेका बैंकहरूको गतिमा केही ब्रेक लागेको छ। बैंकमा लगानीयोग्य रकम थुप्रिँदै जाने, कर्जा प्रवाह नहुने र दबाब दिएर ऋण असुली गर्दा बैंकको लागतमात्रै बढ्ने खतरा बढेपछि असल ऋणीलाई बैंकबाट फोन जान छाडेको हो।
‘जसको ऋण बिग्रिने खतरा बढेको छ, विगतदेखि नै ऋणको ब्याज तथा किस्ता तिरेका छैनन्, उनीहरूलाई अहिले पनि बैंकबाट तारन्तार फोन गइरहेको छ,’ एक बैंकरले भने, ‘तर, नियमितरूपमा ऋण तिरिरहेका तथा साँवा÷ब्याज भुक्तानी गरिरहेकालाई फोन गर्न बन्द गरेका छौ।’
अहिले बैंकसँगै लगानीयोग्य रकम बढिरहेको अवस्था छ। नयाँ कर्जा छिटफूटरूपमा मात्रै गइरहेकाले असल ऋणीलाई ऋण तिर्न दबाब दिन बन्द भएको हो। बजारमा लगानीयोग्य रकमको चरम अभाव भएका बेला बैंकले ब्याज बढाउने, प्रिमियम चलाउने गरिरहेका थिए। तर, अहिले प्रणालीमै ठूलो रकम भएका कारण बैंकले ऋणीलाई फोन गर्न छाडेका हुन्।
‘ऋणीबाट असुली गरेर प्रणालीमा राख्नेमात्रै काम हुन्छ। प्रणालीमा पैसा बढाएर केही फाइदा छैन। बरु उनीहरूसँगै ऋण कामय रह्यो भने ब्याज नियमितरूपमा आउँछ’ ती बैंकरले भने।
बैंकहरूले ऋण तिर्न सक्ने क्षमता गुमेका ऋणीलाई भने अझै दबाब दिइरहेकै छ। ‘हिजोका दिनमा सबै ऋणीलाई बैंकबाट ३÷४ पटकसम्म फोन आउथ्यो,’ एक ऋणीले भने, ‘अहिले धेरै दिन भइसक्यो बैंकबाट फोन आएको छैन।’
आफूले बैंकलाई तिर्नुपर्ने साँवा/ब्याज तथा किस्ता अहिलेसम्म नतिरेको रेकर्ड छैन। तर, बैंकबाट एकाएक फोन आउन छाडेपछि प्रणालीमा तरलता बढाउनुभन्दा असल ऋणीबाट ब्याज लिनु नै बैंकलाई बढी फाइदा हुने देखिन्छ।
ऋणीबाट असुली भए पनि नयाँ कर्जाको माग शून्य छ। यस्तो अवस्थामा ऋणीसँगै पैसा रहेको अवस्थामा आर्थिक गतिविधिसमेत चलायमान हुने सम्भावना हुन्छ। बैंकलाई बुझाउनुपर्ने पैसा व्यवसायी वा ऋणीसमक्ष रहँदा त्यसले आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने ऋणीहरूको विश्वास छ।
अहिले प्रणालीमा ३ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ। बैंकहरू नयाँ कर्जा दिन सकिरहेका छैनन्। कतिपय बैंकले ऋणीलाई बोलाई–बोलाई ऋण दिनसमेत थालेका छन्। तर, आर्थिक अवस्था नसुध्रिएका कारण नयाँ कर्जा लिन कोही इच्छुक नरहेको बैंकरहरू नै बताउँछन्।
अहिले बैंकहरूले विभिन्न फन्डसमेत भित्र्याइरहेका छन्। अर्कोतिर असार मसान्तमा स्प्रेड ४ प्रतिशतमा झारिसक्नु पर्छ। त्यसो हुँदा बैंकको आम्दानी झन घट्ने आँकलन भइरहेका छन्। यस्तो बेला असल ऋणीलाई अनावश्यक दबाब दिएर ऋण असुल्दा बैंकका आएर पैसा थुप्रिनेमात्रै हो। त्यही भएर बैंकले आर्थिक अवस्था बिग्रिएका, ऋण तिर्ने क्षमतामा ह्रास आएकालाई छानेर फोन गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधिलाई चलायमान बनाउने क्षेत्रमा कर्जा प्रवाहलाई कडाइ गरेको छ। सेयर कर्जा तथा गाडी कर्जामा राष्ट्र बैंकको अंकुश छ। उत्पादनमुलक क्षेत्रको अवस्था अझै नसुध्रिएकाले नयाँ उद्योग लगाउन कोही इच्छुक देखिँदैनन्। यस्तो परिस्थितिमा बैंकले ऋणीलाई दबाब दिएर ऋण असुली गर्दा बैंकलाई नै कालान्तरमा नोक्सान हुने बैंकरहरूको बुझाइ छ।