काठमाडौं। नेपालमा महिलालाई पनि आर्थिक गतिविधिमा संलग्न गराउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ। महिलालाई आर्थिक उपार्जनको क्षेत्रमा सहभागी गराउन सके महिला सशक्तिकरणको साथमा मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने विषय स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म उठिरहेकै छ।
महिलालाई आर्थिक उपार्जनको बाटोमा अगाडि बढाउने उद्देश्यले हाल घरेलु महिला उद्यमको विषयलाई पनि प्राथमिकतामा साथ उठाउने गरिएको छ। तर, महिला जनसंख्याको ठूलो हिस्सा अझै पनि घरेलु र अनुत्पादक काममा मात्रै सीमित रहेको पाइन्छ। यद्यपि, यो बीचमा घरेलु उद्यममार्फत् वा अन्य कुनै माध्यमबाट महिलालाई प्रत्यक्षरूपमा आर्थिक आम्दानीसँग जोड्ने प्रयास भने नभएका होइनन्।
पछिल्लो समय महिलाले घरमै बसेर आर्थिक उपार्जनमा प्रत्यक्ष योगदान गर्ने किसिमका थुप्रै उद्यमहरू सुरु भएका छन्। यस्तै मध्येको एक हो ‘देसना’। देसना आशुतोष गोल्यान र मोनिका श्रेष्ठले करिब डेढ वर्षअघि सुरु गरेको व्यवसाय हो। देसना व्यवसाय संसारभरि घरेलु, स्वच्छ, स्वादिष्ट अचार र अन्य खाद्य पूरक उत्पादन उपलब्ध गराउन सक्ने उद्देश्य बोकेको नेपाली ब्रान्ड हो। देसनाले विशेषगरी महिलालाई लक्षित गरेर लप्सीको अचार, टिमुर छोप, डल्ले खुर्सानी अचार र आँपको अचार उत्पादन गर्दै आइरहेको छ।
यसरी जन्मियो व्यावसायिक आइडिया
एकदिन अशुतोष गोल्यान र मोनिका श्रेष्ठ बसेर एकापसमा सामान्य छलफल र गफगाफ गरिरहेका थिए। सोही छलफलका क्रममा श्रेष्ठले आफ्नो आमाले पहिला स्याङ्जामा पसल गरेर आफैंले केही आम्दानी गर्ने गरेको र काठमाडौं आएपछि केही काम गर्न नसकेर बसिरहनु परेको कुरा गोल्यानलाई सुनाइन्। आमाले छोराछोरीको कमाइमा भरपर्नुपर्ने अवस्था आएपछि पहिला आफूले कमाइरहेकाले पुनः आफैंले केही गर्न पाए हुन्थ्यो भन्ने मनसाय आमाले आफूसँग गरेको कुरा पनि श्रेष्ठले सुनाइन्।
सो पश्चात् उनीहरूले यसका लागि केही योजना बनाउने सल्लाह गरे। सोही योजनामा उनीहरूको काम पनि सुरु भयो। उनीहरूको योजनाअनुसार आमाले जानेको काम उहाँलाई गर्न लगाएर बजारीकरण आफूहरुले गर्ने योजनामा काम गर्ने तयारी गरे। तर, यसरी घरमा त्यत्तिकै बसेका महिलाको जनसंख्या ठूलो थियो। घरमा त्यत्तिकै बस्नुपर्ने अवस्था धेरै महिलाको भएको अनुभुति उनीहरूलाई भएपछि अन्य महिलाका लागि पनि केही काम गर्ने सोच आयो।
विभिन्न किसिमका सीप धेरैलाई आउने तर बजारमा कसरी पुर्याउने र बिक्री वितरण कसरी गर्ने? भन्ने आइडिया नभएको पनि उनीहरूले थाहा पाए। केसैले केही वस्तु उत्पादन गरिरहेको तर त्यसलाई ब्रान्डिङ कसरी गर्ने? भन्ने कुरामा अड्किएका थिए। यस पश्चात् उनीहरूले एकजनालाई मात्र नभएर सबै जना महिलालाई रोजगारीमा जोड्न सकिन्छ भन्ने ठानेर उद्यममा इच्छा भएका नेपालभरिका महिलालाई जोड्ने योजना स्वरूप ‘देसना’मार्फत् यो व्यवसायको सुरुवता गरे।
एक लाख लगानीबाट सुरु गरिएको व्यवसाय
यस व्यवसायका लागि सुरुमा उनीहरूले मिलेर ५०/५० हजार लगानी गरे। छोटो समयमा नै बजारको राम्रो प्रतिक्रिया पाएपछि पुनः ५÷५ लाख रुपैयाँ लगानी गरे। अहिले सबै गरेर १०/११ लाख हाराहारीको लगानीमा काम गरिरहेका छन्। देसानाले यस्ता विभिन्न परिकारका प्रोडक्ट बनाउनका लागि आवश्यक सामग्री आफैंले दिने गरेको छ।
साथै, कति केजीमा कति प्याकेट मसाला लगाउने भन्ने कुरा पनि निर्धारण गरेर सोहीअनुसार उत्पादन गर्ने गरिन्छ। सबैले बनाएको अचारमा एउटै स्वाद होस् भनेर मसाला पनि एउटै किसिमको प्रयोग गर्ने काम उनीहरूले गर्छन्। अहिले महिलाहरूले घरमा नै यो अचार बनाएर तयार गर्ने गर्छन्। अहिले घरमा बसेर काम गर्ने बूढानलिकण्ठतर्फ १० जना र सिनामंगलतर्फ पाँच जना महिला छन्।
उनीहरूले यो संख्यालाई बढाउन र थप महिलालाई यो उद्यममा सहभागी गराउन प्रयास गरिरहेका छन्। यसका लागि सिकाउनुपर्ने भएकाले पनि केही दिन समय लाग्ने गरेको छ। उनीहरूले सुरुमा सेलरोटी बनाउने व्यवसायमार्फत् महिलालाई व्यवसायमा जोड्ने योजना बनाएका थिए। तर, अध्ययन गर्दै जाँदा सेलरोटी लामो समयसम्म नरहने र निर्यात गर्न तथा ठूलो व्यवसायको रूपमा अघि बढाउन नसक्ने देखिएपछि अचारमा प्रवेश गरे।
देसनाले हाल १५ गृहिणीहरूसँग साझेदारी गरी विश्वभरि घरेलु अचारको सबैभन्दा मनपर्ने ब्रान्ड बन्ने लक्ष्य राखेर थप व्यक्तिलाई जोड्दै गएको छ। देसना अहिले दराज, फार्म सप, डेली ग्रोसरी, रासन मार्ट, केशरिया स्वीट्सजस्ता अनलाइन प्लेटफर्मममा उपलब्ध छ। यसका उत्पादन अमेरिका, अष्ट्रेलिया र भारतमा निर्यात हुने गरेको छ। १५ जनाको महिला सञ्जालमा धेरै महिलालाई जोडेर उत्पादन र निर्यातलाई व्यापक बनाउने उनीहरूको लक्ष्य छ।
कति र के–के हुन्छ उत्पादन?
देसानसँग अहिले पाँच प्रकारका अचार छन्, जसमा डल्ले खुर्सानीको अचार, लप्सीको अचार, टिमुरको छोप, गुलियो आँप, अमिलो आँप आदि। यो सबैलाई उनीहरूले पहिला बजारमा परीक्षण गरे। त्यसपछि दोहोर्याएर अर्डर आएको छ वा छैन? यसको स्वाद ग्राहकहलाई मन परेको छ वा छैन? यी सबै कुरा अध्ययन गरे।
बजारको राम्रो प्रतिक्रिया पाएपछि र सबै प्रकारको अध्ययन सकेपछि बल्ल उनीहरूले यो प्रोडक्ट बचारमा लन्च गरे। अचारका लागि आवश्यक सबै कच्चापदार्थ आधिकारिक ठाउँबाट ल्याउने गरेका छन्। यसलाई विश्वव्यापी रूपमा अगाडि बढाउने सोच बनाएर उनीहरू अगाडि बढेका छन्। साथै, नेपालमा भएका सामग्रीको प्रयोग गरेर यस्ता सामग्री उत्पादन गरी निर्यात गर्ने उनीहरू बताउँछन्।
‘लप्सी सिन्धुपाल्चोकको, टिमुर सल्यानको ल्याउँछौं भने यसका लागि आवश्यक मसला पनि हामीले स्वादमा एकरूपता आओस् भन्ने उद्देश्यले एउटै ब्रान्डको र उच्च गुणस्तरको ल्याउन गरेका छौं,’ अशुतोष गोल्यानले क्यापिटल नेपासँग भने, ‘हामीले प्याक गरेको लप्सीको अचार प्याक गरेको मितिले एक वर्षसम्म राख्न र प्रयोग गर्न मिल्छ। त्यस्तै अन्य प्रकारका अचार भने दुई वर्षसम्म पनि बिग्रदैँन।’
अहिले उनीहरूले तीनदेखि पाँच टन उत्पादन गरिरहेका छन्। त्यहीअनुसार बिक्री/वितरण पनि भइरहेको गोल्यान बताउँछन्। ‘हामीले कुनै एक प्रोडक्ट उत्पादन गरेपछि त्यसको केही समयपछि अर्थात् आठदेखि नौ महिनापछि पुनः उत्पादन गर्ने काम गरिरहेका हुन्छौं,’ गोल्यानले भने, ‘अबको हाम्रो मुख्य प्राथमिकता भनेको बजारीकरण नै हो। हामीले प्रोडक्ट टेस्ट गर्नेलगायतका सबै काम गरिसकेका छौं भने मार्केटले पनि यसलाई मन पराएको अवस्था छ।’
अब निर्यातलाई थप बढाउँदै जाने सोचका साथ अगाडि बढेको उनको भनाइ छ। आफ्ना सामग्रीको बजारीकरण गर्न उनीहरूले विभिन्न ठाउँमा हुने मेला र प्रदर्शनीमा उत्पादनलाई बिक्री/वितरणका लागि राख्ने गरेका छन्। साथै, उनीहरूले फरकफरक मार्टसँग विभिन्न प्रस्ताव पनि राख्दै आएका छन्। अनलाइन मार्केटिङ, अफर योजना पनि उनीहरूले ल्याउने गरेका छन्। हाल उत्पादन भइरहेका यी प्रोडक्टको संख्या थप गर्दै जाने योजना पनि उनीहरूको छ।
‘हाल लाखाैं नेपाली पढ्न र काम गर्नका लागि विदेशीने गरेका छन्। हामीले देशभित्र र बाहिरका लाखौं नेपालीको साथमा अन्य सबैलाई समेट्ने गरी उत्पादन गरेका छौं र गर्ने छाैं,’ गोल्यानले भने। देसनाले नै घरघरमै सामग्री उपलब्ध गराउने भएकाले घरमा बसेका जो–कोहीले आफ्नो अनुकुल समयमा यसको काम गर्न सक्छन्। उनीहरूले यी सबै सामग्रीको उत्पादनमा एक विशिष्ट प्रक्रिया अवलम्बन गर्ने गरेका छन्।