काठमाडौं। एमभी दुगड ग्रुप तथा सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड र उनका छोरा विवेक दुगडले नेपालबाट गैरकानुनीरूपमा भारतमा लगानी गरेका छन्।
दुगड बाउछोराले भारत कोलकातामा कोहिनुर स्टिल प्रालि र कोहिनुर पल्प एन्ड पेपर प्रालिका नाममा नेपालबाट गैरकानुनी लगानी पुर्याएको भेटिएको हो। दुई कम्पनीमा दुगड परिवारले भारतमा रहेका नजिकको नाता पर्ने आफन्तसँग मिलेर गैरकानुनी लगानी गरेका हुन्।
दुई कम्पनीमा एक दर्जन बढी बैंकबाट १२ अर्ब भारु ऋण लिएर नतिरी कालोसूचीमा परेपछि दुगड परिवारले भारतमा गैरकानुनी लगानी गरेको खुलेको हो।
नेपालको कानुनअनुसार विदेशमा नेपालीले लगानी गर्न बन्देज छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१, संशोधन २०७४ ले नेपाली नागरिकले विदेशमा कुनै पनि प्रकारले लगानी गर्न प्रतिबन्ध लगाएको छ। ऐनले एकल वा साझेदारीमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ।
विदेशमा गैरकानुनी लगानी गरे बिगोबमोजिम जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
मोतिलाल र विवेकले भारतीय व्यावसायिक घराना कोहिनुर ग्रुपका अध्यक्ष विजय बोथ्रा र उनका छोरा प्रशान्त बोथ्रासँग कोहिनुर स्टिल प्रालिसहित एक दर्जन अन्य कम्पनीमा साझेदारीमा लगानी गरेका छन्। विजय मोतिलालका सम्धी तथा विवेकका ससुरा हुन् भने प्रशान्त विवेकका सालो हुन्।
पारिवारिक साझेदारीमा लगानी गरेको कम्पनीमार्फत भारतका एक दर्जन बैंकबाट १२ अर्ब (१९ अर्ब २० करोड रुपैयाँ) ऋण लिएर नतिरेपछि बैंकहरूले दुगड र बोथ्रा परिवारलाई कालोसूचीमा राखेर मुद्दासमेत दायर गरेका छन्।
भारतमा दुगड परिवारले लिएको ऋणका विषयमा र गैरकानुनी लगानीका विषयमा राष्ट्र बैंक जानकार भएपछि सुक्ष्म अनुसन्धान र कारबाहीमा चासो दिएको छ।
‘यस विषयमा यहाँ (राष्ट्र बैंक) मा जानकारी छ, यसअघि नै उजुरी र गुनासो पनि आएको थियो तर अनुसन्धान के भएको छ थाहा छैन,’ केन्द्रीय बैंकका एक कार्यकारी निर्देशकले क्यापिटल नेपालसँग भने, ‘गभर्नर महाप्रसाद अधिकारी र मोतिलाल दुगडको निकटताले सनराइज बैंकमा दुगडले गरेको अन्य संस्थागत सुशासनविरुद्धका काममा समेत गभर्नरले आखाँ चिम्लेका छन्, यो त झनै ठूलो विषय हो।’
त्यस्तै बोथ्रा कोमोट्रेड प्रालि, कोहिनुर मिनरल्स एन्ड माइनिङ प्रालि, कोहिनुर लाइम्स प्रालि, संकल्प ट्रेड लिंक प्रालि, कोहिनुर पावर प्रालिलगायत कम्पनीले स्टेट बैंक अफ इन्डियालगायत बैंक तथा वित्तीय संस्थासँग लिएको थप ५ अर्ब भारु (८ अर्ब रुपैयाँ) ऋण पनि चुक्ता नगरेको पाइएको छ। यी केही कम्पनीमा पनि दुगडको साझेदारी रहेको छ।
दुगड र बोथ्रा परिवारले इन्डियन ओभरसिज बैंकबाट २ अर्ब, युसिओ बैंकबाट ९४ करोड ५० लाख, डिना बैंकबाट ५० करोड, बैंक अफ बरोडाबाट ४५ करोड, अलाहावाद बैंकबाट १ अर्ब, फेडेरल बैंकबाट ३४ करोड ५० लाख, स्टेट बैंक अफ हैदरावादबाट ५० करोड, स्टेट बैंक अफ बिकानेर एन्ड जयपुरबाट ७५ करोड, नर्थ इस्टर्न डेभेलपमेन्ट फाइनान्स कर्पाेरेसनबाट २० करोड र कर्पाेरेसन बैंकबाट ७५ करोड भारु ऋण लिएका छन्।
ती सबै बैंक तथा वित्तीय संस्थाले इन्डियन ओभरसिज बैंकको अगुवाइ (कन्सोर्टियम) मा कोहिनुर पल्प एन्ड पेपरलाई ऋण दिएका हुन्।
मोतिलालले भारतमा सम्धी र छोराको सालोसँग सन् २०१४ मा नेपालबाट टिएम दुगड ग्रुपका नामबाट लगानी गरेका थिए। यो ग्रुप स्थापना हुँदा मोतिलाल र उनका दाइको नाममा थियो। २०७१/७२ सालतिर दुई दाजुभाइबीच अंशबण्डा हुन पुग्यो र मोतिलालले ‘एमभी दुगड ग्रुप’ स्थापना गरे भने पुरानो टिएम दुगड ग्रुप दाइको छोरा मालचन्द दुगडलाई छाडिदिए।
मोतिलाल र विवेकले साझेदारी गरेको कोहिनुर ग्रुपका निर्देशक प्रशान्त बोथ्रा र झारखण्ड राज्य सरकारबीच झारखण्ड उच्च अदालतमा जारी मुद्दा सन् २०११ फेब्रुअरी १४ मा राज्य सरकारले जितेको थियो।
बोथ्रा बाउछोरासँग विभिन्न राज्य सरकार र बैंक तथा वित्तीय संस्थाले दायर गरेका अधिकांश मुद्दा बोथ्रा बाउछोराले हारिसकेका छन्। त्यसपछि बोथ्रा बाउछोरा अहिले सर्वाेच्च अदालतमा मुद्दामामिला गरिरहेका छन्।
त्यसबाहेक भारतको कर कार्यालयले पनि उनीहरूलाई कर छलीमा मुद्दा दायर गरेको छ। कोहिनुर ग्रुपअन्तर्गतका धेरै कम्पनीले सन् २०१९ देखि ब्यालेन्ससिट (वासलात) उपलब्ध नगराएको कर कार्यालयले जनाएको छ।
त्यसैगरी कोहिनुर ग्रुपले कोहिनुर हाइड्रोपावरमार्फत लिएको ३ अर्ब ४९ करोड भारु ऋण चुक्ता नगरेको विषयमा मुद्दामामिला हुँदा सन् २०१८ मार्च ३१ मा दिल्ली जिल्ला अदालतमा कोहिनुर ग्रुपले मुद्दा हारेको थियो।
कोहिनुर स्टिल प्रालि सन् २००५ फेब्रुअरी १६ मा कोलकातामा स्थापना भएको थियो। कम्पनीको चुक्ता पुँजी २० करोड २९ लाख ८० हजार भारु छ।
कम्पनीमा विवेक दुगड र विजय बोथ्रा दुईजना सञ्चालक छन्। उनीहरू कम्पनी व्यवस्थापनका प्रमुख व्यक्ति पनि हुन्। कम्पनीको पछिल्लो वार्षिक साधारणसभा २०२२ सेप्टेम्बर ३० मा भएको थियो। कम्पनी सेयर बजारमा सूचीकरण भएको छैन।
कोहिनुर पल्प एन्ड पेपरले ७ अर्ब ७४ करोड भारु ऋणको रेटिङ ब्रिकवर्कबाट गराएको छ। कम्पनीले ‘बिडब्लुआर डबल बि प्लस’ रेटिङ पाएको छ।