काठमाडौं। निजी क्षेत्रबाट स्थापना भएको समृद्धि इनर्जी लिमिटेडले २ सय १६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना बनाउने भएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली खरिद सम्झौता(पिपिए) को प्रक्रिया अघि बढेको छ।
नेपाल विद्युत प्राधिकरणले बझाङ माथिल्लो सेती आयोजनाबाट उत्पादन हुने बिजुली पिपिए स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेको छ।
पिपिएका लागि आयोगले असार १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको छ। सार्वजनिक सुनुवाइपछि आयोगले विकासकर्ता समृद्धि इनर्जीसँग पिपिए गर्न प्राधिकरणलाई अनुमति दिनेछ।
अर्धजलासययुक्त आयोजना बनाउन ४४ अर्ब ४४ करोड ७१ लाख ९० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाबाट वार्षिक १ अर्ब २२ करोड ९६ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
जसअनुसार वर्खामा ८३ करोड ४५ लाख ३० हजार र सुक्खामा ३९ करोड ५० लाख ७ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली वर्खामा युनिटको ४.८० रुपैयाँ तय गरेको छ। यस्तै सुक्खायाममा आयोजनाको पिकिङ क्षमताअनुसार न्यूनतम ८.५० देखि अधिकतम् १०.५५ रुपैयाँ तोकेको छ।
यो पिकिङलाई आधार मानेर पिपिए दर तय गरिएको हो। सुक्खायाममा दैनिक ४ देखि ६ घण्टासम्म पिकिङ भएमा युनिटको १०.५५ रुपैयाँमा पिपिए हुनेछ। आयोजनाले वर्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ।
विद्युत उत्पादन अनुमतिपत्र दरखास्त कारवाहीको अवस्थामा रहेको आयोगले जनाएको छ। आयोजना बझाङको काँडा गाउँपालिकामा पर्छ ।
विद्युतगृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ।
आयोजनामा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापक र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर जुटाउने योजना समृद्धिको छ। कम्पनीका अनुसार विसं २०९० सम्ममा आयोजनाको निर्माण पूरा भएर बिजुली उत्पादन हुनेछ।
आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ।