काठमाडौं। नेपाली सङ्गीतमा गायक, सङ्गीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन्। उनले निर्देशन गरेको छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ को यहाँ आयोजित एक समरोहमा विशेष प्रदर्शनी गरियो। एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गरेका गायक प्रधानले आफू इन्टरनेटको माध्यमले चलचित्रको विधालाई नजिकबाट नियाली रहेको जानकारी दिए।
“यो मेरो दोस्रो छोटो चलचित्र हो । म धेरै चलचित्र हेर्छु, त्यही कारणले निर्देशक बन्न पुगे”, उनले भने, “धेरै चलचित्र कागजमा मैले लेखिसकेको छु। त्यही प्रभावले पनि यसपटक निर्देशकसँगै लेखनमा पनि आफैँ छु।” उनले यो तयारी ठूलो पर्दाको लागि रहेको सङ्केत गरे। गायिका आनी छोइङ डोल्माले चलचित्र निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले उनलाई अहिले पनि निर्देशक बन्न प्रेरित गर्ने गरेको जानकारी दिइन्।
“म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्ने अवस्था छैन। यसलाई त्यसकै सुरुआतको रुपमासमेत बुझ्न सकिन्छ”, गायक प्रधानले भने। उक्त छोटो चलचित्रमा समिशन जिसी र बेदना राईले अभिनय गरेका छन्।
यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रङ्ग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका छन्। कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले गायक प्रधानमा पहिले देखि नै विविध क्षमता रहेको बताए।
अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले छोटो चलचित्र हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए ।
कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भीम तुलाधर, सङ्गीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए। रासस