काठमाडौं। सरकारले गत वर्षभन्दा कम राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको जेठसम्म ४ खर्ब ८ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। गत वर्ष २०७९ को जेठसम्म ४ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलन १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ कम भएको आन्तरिक राजस्व विभागले जनाएको छ। विदेशी मुद्रा सञ्चितीमा गिरावट आएपछि २०७९ वैशाखदेखि सरकारले १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध खुला हुँदा पनि राजस्व संकलन गत वर्षभन्दा कम भएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार जेठमा मात्रै गत वर्षको भन्दा १ सय १५ प्रतिशत बढी राजस्व संकलन भएको छ। २०८० जेठमा मात्रै ३६ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। २०७९ जेठमा ३२ अर्ब १० करोड ५४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका छ। गत वर्षकोृ सोही अवधिमा यो वर्ष ४ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ।
विभागका अनुसार आय कर गत वर्षको तुलनामा ९४ प्रतिशत मात्रै संकलन भएको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार २०८० जेठसम्म १ खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र आयकर उठेको छ। गत वर्षको यसै अवधिमा १ खर्ब ८२ करोड २३ लाख रुपैयाँ आयकर संकलन भएको थियो।
गत वर्षको तुलनामा यो वर्ष आयकर ११ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ कम उठेको विभागले जनाएको छ। यस्तै जेठमा मात्रै गत जेठमा मात्रै ११ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ आयकर उठेको छ। गत वर्षको सोही अवधिमा ८ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ मात्र उठेको थियो। त्यस्तै घरभाडा करतर्फ पनि सरकारले राजस्व गुमाएको छ। जेठसम्म २ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ घरभाडा कर उठेको छ।
२०७९ को जेठमा २ अर्ब ३९ करोड ७९ लाख रुपैया घरभाडा कर उठेको थियो। यस्तै ब्याज ३१ अर्ब ४४ करोड रुपैयाँ उठेको छ। मुल्य अभिवृद्धिकर (भ्याट) आन्तरिक ९९ अर्ब ४१ करोड ८० लाख रुपैयाँ असुली भएको छ। गत वर्षको यही समयमा भ्याट असुली १ खर्ब रुपैयाँ भएको थियो। अन्तःशुल्क आन्तरिक ९६ अर्ब ९० करोड ५३ लाख रुपैयाँ असुली भएको छ। गत वर्षको यसै अवधिमा ९४ अर्ब ७४ करोड रुपैयाँ मात्र उठेको थियो।
स्वास्थ्य कर पनि ६ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ उठेको छ। गत वर्षको जेठसम्म ५ अर्ब ८१ करोड रुपैयाँमात्र असुली भएको थियो। शिक्षा कर असुली गत वर्षभन्दा बढी छ। शिक्षा कर १ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ असुली भएको छ। गत वर्षको जेठमा १ अर्ब ४ करोड रुपैयाँमात्र उठेको थियो।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार अहिलेसम्म लक्ष्यको ५९.६४ प्रतिशत मात्र उठेको छ। अहिलेसम्म ८ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्र राजस्व उठेको छ। चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो।