काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय संरक्षण विभागले बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै मूल्यवुद्धि भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। ‘केही दिनदेखि बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि भएको भनि पत्रपत्रिकामा प्रकाशित समाचार एवं यस विभागमा आएका गुनासोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागद्वारा जारी सूचनामा छ, ‘बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन÷अनुगमन गरिरहेको छ।’
आगामी आर्थिक वर्ष ०८०/८१ का लागि पेस भएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा नियमितरूपमा आपूर्ति भइरहेको वस्तुको स्वाभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको समेत विभागले उल्लेख गरेको छ।
उपभोक्ताको दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा विक्रेता सबैले उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकिदिएको दायित्व वहन गर्दै पारदर्शी तवरबाट आ–आफ्नो व्यवसाय सञ्चालन गर्न कानुनबमोजिम बिल बिजक जारी गरी कारोबार गर्नसमेत विभागले ध्यानाकर्षण गराएको छ।
विभागबाट अनुगमनको क्रममा कानुनले तोकिदिएको दायित्व पुरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कारबाही हुने चेतावनी विभागले दिएको छ।