काठमाडौं। मदिरा र सुर्तीजन्य वस्तु राख्नका लागि अर्थमन्त्रालयले स्वीकृति नदिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा त्यस बाहेकको सामान राखेर करमुक्त पसल (ड्यूटी फ्रि सप) राख्ने तयारी भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले धेरै लामो समयदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सपमा मदिरा तथा सुर्तीजन्य वस्तु बिक्रीका लागि अनुमति मागेको भएपनि हालसम्म कुनै प्रतिक्रिया नपाएपछि त्यस बाहेकको सामान राखेर पसल सञ्चालन गर्न थालिएको प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।
मदिरा तथा सुर्तीजन्य वस्तु ड्युटी फ्रि सपमा बेच्नका लागि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्छ। तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/६६ को बजेटमार्फत ड्युटी फ्रि सपमा मदिरा तथा सुर्तीजन्य वस्तु बिक्री बन्द गरिदिएका थिए।
अर्थले बजेटमार्फत नै ड्युटी फ्रि सपमा मदिरा र सुर्तीजन्य वस्तु बिक्री रोक लगाएपछि प्राधिकरणले स्वीकृतिका लागि पत्र पठाएको थियो। तर, हालसम्म कुनै प्रतिक्रिया नपाएपछि अन्य सामग्रीमात्र राख्ने गरी असारभित्रै सूचना जारी गर्न लागेको प्रवक्ता निरौलाले क्यापिटल नेपाललाई जानकारी दिए।
ड्युटी फ्रि सप भन्नेबित्तिकै अधिकाशंको दिमागमा मदिराजन्य वस्तुहरू नै पाइन्छ भन्ने हुन्छ। तर, लामो समयदेखि ड्युटी फ्रि सप नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुले आलोचना गरिरहेकोले तत्कालका लागि मदिराजन्य वस्तु बाहेकका सामान राखेर सञ्चालनका लागि टेण्डर आह्वान गर्न लागिएको उनले बताए। ड्युटी फ्रि सपका लागि विमानस्थलमा पहिलाकै ठाउँ रहेकोले पनि धेरै समय नलाग्ने उनको भनाइ छ।
यता अर्थमन्त्रालयका राजस्वसचिव रामप्रसाद घिमिरेले भने प्राधिकरणबाट विमानस्थलमा सञ्चालन हुने ड्युटी फ्रि सपका लागि मदिरा र सुर्तीजन्य वस्तुको अनुमतिका लागि पत्र नआएको बताए। ’म आउनुभन्दा अगाडि आएको भए थाहा भएन,’ ‘राजस्वसचिव घिमिरेले भने, ‘म आएपछि भने त्यस खालको पत्र आएको जानकारी पाएकौ छैन।’
तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहे पनि हालसम्म ड्यूटी फ्रि सप राख्न सकिएको छैन्। जहाजमार्फत यात्रा गर्ने अधिकाशंले ड्युटी फ्रि सपमार्फत मदिरासहित अन्य सामान खरिद गर्ने गरेका छन्। खासगरी विदेशमा रहेका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्यरूपमा ड्युटी फ्रि सप सञ्चालन हुँदै आएको छ।
हुन त नेपालमा पनि लामो समयदेखि विमानस्थलमा ड्युटी फ्रि सप राख्ने चर्चा चलेपनि त्यसले सार्थकता भने पाउन सकिरहेको छैन्। पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको पालामा (२०७६) सालमै ड्युटी फ्रि सप पुनःसञ्चालनको निम्ति बिक्री गरिने सामानहरूको सूचीसहित विमानस्थल व्यवस्थापनबाट यथाशीघ्र पेस गर्ने र मन्त्रालयस्तरबाट सम्बन्धित निकायमा समन्वय गरी ड्युटी फ्रि सप सञ्चालनका लागि निर्देशनसमेत दिएका थिए।