काठमाडौं । पोखरेल परिवारले सञ्चालनमा ल्याएको दुई उद्योगले एक वर्षमा ३ अर्ब ३८ करोड रुपैयाँको सिमेन्ट व्यापार गरेको छ। कृष्णप्रसाद पोखरेल र ताराप्रसाद पोखरेलको लगानीमा सञ्चालित अग्नि सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले उक्त कारोबार गरेका हुन्। यो व्यापार गत वर्षको भन्दा कम हो।
गत वर्ष सन् २०२१ म दुई उद्योगको सिमेन्ट कारोबार ३ अर्ब ८२ करोड रुपैयाँ थियो। दुई सिमेन्ट उद्योगको ऋण ५ अर्ब ४० करोड ५३ लाख रुपैयाँ छ। जसअनुसार अग्नीको ८० करोड ५६ लाख र शुभश्री अग्नीको ४ अर्ब ५९ करोड ६७ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
२०२१ मा शुभश्रीको २ अर्ब ४६ करोड ७० लाख र अग्निको १ अर्ब ३५ करोड २० लाख रुपैयाँको सिमेन्ट व्यापार थियो। गत वर्ष दुई उद्योगको ऋण ५ अर्ब ५२ करोड ३० लाख रुपैयाँ थियो। शुभश्रीको मात्र ४ अर्ब ७१ करोड ८० लाख र अग्निको ५० करोड ५० लाख रुपैयाँ थियो।
अग्नी सिमेन्टले २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ। २०२१ म अग्नीले १ अर्ब ३५ करोड २० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो। २०२० मा अग्नीको सिमेन्ट व्यापार १ अर्ब ३० करोड ५० लाख रुपैयाँको थियो। सन् २००७ मा स्थापना भएको अग्नी सिमेन्ट २०२२ मा आएर पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो।
उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ९ सय टन रहेको छ। सन् २००९ बाट दैनिक उत्पादन क्षमता ६ सयबाट ९ सय टन पुगेको हो। अर्थतन्त्र शिथिल हुँदा बजारमा सिमेन्टको माग कम भएपछि अग्नीको कूल क्षमताको ४७ प्रतिशत मात्र सञ्चालनमा छ।
अघिल्लो वर्ष अग्नी सिमेन्ट ४९ प्रतिशत क्षमतामा सञ्चालन भएको थियो। ९ महिनामा सिमेन्टको मागमा झनै कम आएपछि २७ प्रतिशत मात्र उत्पादन क्षमतामा सञ्चालनमा रहेको अग्नीले जनाएको छ। यसबीचमा ५१ करोड २० लाख रुपैयाँको मात्र सिमेन्ट व्यापार गरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
नेपालको सिमेन्ट उद्योग सुस्त हुँदा यसको असर बजारको प्रभावमा परेको छ। सरकारको पुँजीगत खर्च कम भएका कारण माग पनि घटेको छ। यस्तै तरलता संकटले गर्दा र बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी कमी हुँदा समग्र निर्माण गतिविधिमा कमी ल्याएको छ।
उद्योगको संख्या बढ्दै गएको तर बजार खुम्चिँदै गएको अग्नीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। अग्नीको ग्रान्डिङ युनिट मात्र भएकाले कच्चा वस्तु क्लिङकर अन्य उद्योगहरुबाट खरिद गर्दै आएको छ।
एक दशकको अवधिमा कम्पनीले अग्नि, ओरियन्ट र त्रिदेव ब्रान्डको पीपीसी र अल्फा ओपीसी ब्रान्डको सिमेन्ट उत्पादन भइरहेको छ। ३१ जिल्लामा उद्योगको सिमेन्ट बिक्री हुने गरेको छ। उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् भने ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छन्।
२०२२ मा शुभश्रीको सिमेन्ट व्यापार घटेर २ अर्ब १६ करोड ५० लाख रुपैयाँमा झरेको छ। सन् २०२१ मा २८ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ७० लाख रुपैयाँ पुगेको थियो। २०२० मा उद्योगले १ अर्ब ९३ करोड ३० लाख र सन् २०१९ मा २ अर्ब ३२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको शुभश्रीले जनाएको छ।
२०२२ मा उद्योगले ३३ करोड ६० लाख रुपैयाँ ब्याज भुक्तानी गरेपछि उद्योगको नाफा घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। ९ महिनामा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५ प्रतिशत बढेर २ अर्ब २३ करोड ३० लाख रुपैयाँ पुगेको छ।
उद्योग प्यूठान ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ । शुभश्रीले सिमेन्ट उत्पादनका लागि चाहिने क्लिंकर आफैले उत्पादन गर्दै आएको छ। उद्योगको दैनिक क्लिंकर उत्पादन क्षमता ७ सय टन छ।
उद्योगले कोइला, जिम्सनलगायत अन्य फलामजन्य वस्तुबाट क्लिंकर उत्पादन गर्दै आएको छ। उद्योगको दैनिक १२०० टन सिमेन्ट उत्पादन क्षमता छ। शुभश्रीले सिमेन्ट उत्पादन सन् २०१९ र क्लिंकर २०१७ देखि उत्पादन थालेको हो।
उद्योगले खानी विभागबाट दुईवटा खानी सञ्चालनका लागि अनुमति पाएको छ। जसअनुसार प्यूठानमा ८६ लाख टन र दाङमा ४३ लाख टन खानी उत्खनन्को अनुमतिपत्र (लाइसेन्स) पाएको छ।
यी दुई खानीबाट उत्खनन हुने कच्चा वस्तुको प्रयोगबाट आउँदो ४६ वर्षसम्म दैनिक १ हजार २ सय टन सिमेन्ट उत्पादन हुनेछ। उद्योगको अध्यक्षमा कृष्णप्रसाद पोखरेल रहेका छन्। यस्तै प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन्। उद्योग घोराही, तुल्सिपुर, नेपालगञ्ज, कोहलपुर बुटबल र भैरहवामा केन्द्रीत रहेको छ।
१.८९ अर्बमा चारतारे होटल बुद्धस्टार बनाउँदै
पोखरेलले भैरहवामा चारतारे होटल बुद्धस्टार निर्माण गरिरहेका छन। अग्नि र शुभश्री अग्नि सिमेन्टका सञ्चालक पोखरेलले १ अर्ब ८९ करोड लगानीमा तारे होटल सञ्चालनमा ल्याउन लागेका हुन।
होटलको पूर्वाधार निर्माणको चरणमा रहेकाले आगामी सन् २०२५ मा सञ्चालनमा ल्याउन तयारी गरिएको छ। होटलमा ८० प्रतिशत बैंकबाट ऋण र बाँकी २० प्रतिशत पोखरेल परिवारले स्वपुँजी (इक्विटी) लगानी गरेका छन्।