काठमाडौं। स्वदेशी उद्योगद्वारा उत्पादित सिमेन्ट विस्तारै छिमेकी भारतीय बजारमा लोकप्रिय बन्न थालेको छ। तीन उद्योगले छिमेकी बजारलाई लक्षित निर्यातले विस्तारै व्यावसायिक रूप लिन थालेको र भारतीय बजारमा विश्वास जित्न थालेको हो।
अहिले नेपालबाट अर्घाखाँची, तानसेन र बाहुबली सिमेन्ट निर्यात भइरहेका छन्। एकपछि अर्को उद्योगले छिमेकी भारतीय बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेका छन्।
एकातिर भारतीय बजारमा विस्तारै स्वदेशी उत्पादनको हिस्सा बढिरहेको छ भने अर्कातिर अन्य सिमेन्ट उद्योगी पनि भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) लिन दौडधूपमा लागेका छन्।
अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका सरकारले गरेको निर्यात प्रोत्साहन नीतिको परिणाम भएको बताउँछन्। सरकारले चालू आर्थिक वर्षबाट ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेका कारण स्वदेशी सिमेन्ट भारतीय भूमिमा पुगेको मुरारकाको भनाइ छ।
अहिले अर्घाखाँची सिमेन्टले नियमितरूपमा सिमेन्ट भारत निकासी गरिरहेको छ। उद्योगीले भारतीय बजारमा आफ्नो उत्पादनलाई थप लोकप्रिय बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमम सञ्चालन गर्ने तयारीमा छन्।
नेपाली उत्पादनको गुणस्तरसमेत भारतीय बजारमा प्रमाणित भइसकेको छ। गुणस्तर प्रमाणित नभए भारतीय बजारमा टिक्नै नसकिने बालाजी सिमेन्टका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवाल बताउँछन्।
‘यसअघि दुई उद्योगले नियमितरूपमा नेपालबाट सिमेन्ट निकासी गरिरहेका छन। हामी भारत सिमेन्ट निकासी गर्ने तेस्रो कम्पनी भएका छाैं,’ अग्रवालले क्यापिटल नेपालसँग भने, ‘दुई उद्योगको उत्पादनप्रति भारतीय उपभोक्ताको विश्वास बढेकाले नयाँ उद्योगलाई बजार प्रवेश सहज भएको हो।’
‘९५ प्रतिशत स्वदेशी कच्चापदार्थबाट सिमेन्ट बन्छ। सिमेन्ट बनाउन कोइला, जिप्सम्स्, प्लाइअर्सलगायत केही कच्चापदार्थ विदेशबाट ल्याउनुपर्छ’ उनले भने, ‘तर, सिमेन्टको मुख्य कच्चापदार्थ भनेको चुनढुंगा हो, त्यो नेपालकै हो। बिजुली पनि नेपाली नै भएकाले अत्यधिक मूल्य अभिवृद्धि हुन्छ।’
पाल्पा सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवालका अनुसार सरकारी सहयोगकै कारण उद्योगीले आफ्नो लागतमै सिमेन्ट निकासी गरिरहेका छन्। सरकारी अनुदान हेरेर उद्योगीले नियमित सिमेन्ट निकासी गरिरहेको उनको भनाइ छ।
उद्योगीले भारतीय बजारलाई केन्द्रित गरेर प्रचार–प्रसारका कार्यक्रमलाई तीव्रता दिएका छन्। बलिउडमा चर्चित कलाकारलाई ब्रान्ड एम्बेसडर बनाएर सिमेन्टको प्रचार प्रसार गर्ने कि स्थानीय कलाकारलाई प्रयोग गरेर सिमेन्टको ब्रान्डिङ गर्ने भन्नेमा उद्योगीहरू छलफलमा जुटेका छन्।
अहिले निरन्तर निर्यात गरिरहेकाहरू आफ्नो बजारलाई थप बलियो बनाउन लागिपरेका छन्, भने नयाँ उद्योगीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्नतर्फ लागिपरेका छन्।
चालू आर्थिक वर्षको चैतसम्म नेपालबाट ४२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ।
समीक्षा अवधिमा २३ करोड ७२ लाख ७३ हजार रुपैयाँबराबरको क्लिंकर र १८ करोड ५९ लाख १६ हजार रुपैयाँबराबरको सिमेन्ट निर्यात भएको हो।
सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन्। तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन्। यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ।