काठमाडौं। विद्युत नियमन आयोगले ३ सय ५ मेगावाट क्षमता दुई ठूला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) स्वीकृतिको प्रक्रिया अघि बढाएको छ।
आयोगले बुटबल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सहायक कम्पनीबाट बनाउन लागेको १ सय ३९.२ मेगावाटको तल्लो मनाङ–मर्स्यांदी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले बनाउन लागेको १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाको पिपिए स्वीकृतिको प्रक्रिया अघि बढाएको हो।
नेपाल विद्युत प्राधिकरणले पेस गरेको निवेदनका आधारमा आयोगले दुवै आयोजनाको पिपिएको प्रक्रिया अघि बढाएको हो।
दुई जलविद्युत आयोजना बनाउन करिब ६५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। जसअनुसार सुपर तमोरको अनुमानित लागत ३४ अर्ब ५९ करोड रुपैयाँ छ। यस्तै मनाङ– मर्स्यांदी बनाउन अनुमानित लागत झन्डै ३० अर्ब रुपैयाँ (२७ करोड ८४ लाख ८० हजार) अमेरिकी डलर रहेको छ।
सुपर तमोर र मनाङ–मर्स्यांदी आयोजनाको सार्वजनिक सुनुवाइ असार १८ गते तोकेको आयोगले जनाएको छ। सुपर तमोर नदी प्रवाही (आरओआर) आयोजना हो। यो आयोजनाबाट वार्षिक ९८ करोड ३१ लाख ९० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
जसअनुसार बर्खाको ६ महिनामा ६७ करोड ९८ लाख ९२ हजार ७ सय २७ र सुक्खायामको ६ महिनामा ३० करोड ३२ लाख ९२ हजार ४ सय ५४ युनिट बिजुली उत्पादन हुनेछ। आयोजनाको पिपिए दर पोष्टेड रेट बर्खामा प्रतियुनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँ तोकिएको छ। आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ।
आयोजनाको विद्युत उत्पादन अनुमातिपत्र दरखास्त कारबाहीको प्रक्रियामा रहेको छ। आयोजाको प्रवर्द्धकमा कृष्णप्रसाद आचार्य, पुष्पराज आचार्य, अर्जुनप्रसाद पौडेल र सुजनकुमार आचार्य रहेको आयोगले जनाएको छ। आयोजना कोशी प्रदेशको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पर्छ।
यस्तै बिपिसीले बनाउन लागेको अर्को क्यासकेड अर्धजलाशय तल्लो मनाङ मर्स्यांदीको पनि असार १८ गते पिपिएका लागि सार्वजनिक सुनुवाइ हुने भएको छ। आयोजनाबाट वार्षिक ७९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार बर्खामा ५५ करोड २६ लाख ६९ हजार ६ सय ९३ र सुक्खायाममा २३ करोड ७६ लाख युनिट रहेको छ।
आयोजनाको पिपिए दर वर्खामा ४.८० र सुक्खामा ८.४० रुपैयाँ छ। आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने भएको छ। आयोजना दैनिक १.६६ घन्टा पिकिङ रहेको छ। आयोजना गण्डकी प्रदेशको मनाङको नासो गाउँपालिका र धारापानी गाउँपालिका रहेको छ।
बिपिसीले बनाउन लागेको तल्लो मनाङ मर्स्यांदीको ८०.६ प्रतिशत सेयर चिनियाँ कम्पनीको छ। बिपिसी र ३ चिनियाँ कम्पनीले संयुक्तरूपमा स्थापना गरेको एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड रहेको छ। एसीआइजीमा बीपीसको १९.४ र बाँकी एससीआइजीको सेयर रहेको छ।
एससीआइजीमा एससीआइजी इन्टरनेसनल लिमिटेड, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ।