ललितपुर। राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ।
बिहीबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य गरेसँगै एउटै सदस्यले ४२ लाख भन्दा बढी रकम प्राप्त गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघसंस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कूल १८ करोड ५५ लाख १२ हजार ६ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ।
संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघसंस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए। उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १५ हजार ४ सय ७४ सहकारी संघसंस्थाको संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन्।
बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४२ लाख ७ हजार ७ सय २७ रुपैयाँ तथा कर्जा तर्फ ११ लाख ४८ हजार ४ सय ९८ रपैयाँ सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताए।
'उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक' भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजार भन्दाबढी रकम प्राप्त गर्ने सहकारी संघसंस्था ७ सय ३३ रहेका छन्। हाल बैंकमा १६ हजारभन्दा बढी सदस्य सहकारी संघसंस्था रहेका छन् ।
यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थालाई आर्थिक वर्ष २०७८/७९ को लागि बैंकको १९औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पुस १८ गते वितरण गरेको थियो।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरूको केन्द्रीय निकायमध्ये निरन्तर संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँट गर्ने बैंक पहिलो हो।