काठमाडौ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले एफपिओ आइपिओ र मर्जमा कर नलगाउन सरकारलाई सुझाएका छन्। पूर्वगभर्नर रावलले वित्तीय क्षेत्रलाई अप्ठेरो पर्ने गरी कर लगाउन नहुने बताए। यसमा गभर्नर महाप्रसाद अधिकारीले वित्तिय संस्थालाई साथ दिनूपर्ने उनको सुझाव थियो।
संसारभर आइपीओ एफपिओ र मर्जरमा कर लगाउनु व्यवस्था नभएकाले नेपालमा पनि लगाउनु नहुने उनको जिकिर छ। एफपिओ, आइपिओ र मर्जमा कर उठाउने सरकारको अपरिपक्व निर्णय भएको उनले दाबी गरे।
पूर्वगभर्नर रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक रहेको बताएका छन्। त्यसमा अन्तरिक तथा बाह्य अवस्था पनि अनुगमन गरिरहनु पर्ने उनको सुझाव छ।
नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति छलफल कार्यक्रममा बोल्दै पूर्वगभर्नर रावलले रुस र युक्रेन युद्धको असर हाम्रो अर्थतन्त्रमा र उपभोक्तमा परेको र पहिला उत्पादन बढाउनु पर्नेमा जोड दिए।
अर्थमन्त्री भएपछि सबैको ध्यान करमा नै जानु कारण के हो? भन्दै उनले प्रश्न गरे। अहिले ब्याजमा कर लाउदा बजारमा अभाव भएको र अहिलेसम्म भएका सबै अर्थमन्त्रीलाई माथ खुवाउनेगरि कर लगाउन थालेको उनको दाबी छ।
मर्जर र एफपिओमा कर लगाउँदाको असर बजारमा विस्तारै देखिन्दै जाने उनको भनाई छ। महालेखाले कर लगाउन भनेको भनेर लगाए पनि निकै उच्चस्तरिय अध्ययन समितिले अनुसन्धान गर्नुपर्ने उनको भनाई छ। यसरी कर मात्र थोपर्दा बैक तथा वित्तीय संस्थालाई निकै असर पर्ने उनले बताए।
यसमा राष्ट्र बैकको पनि भुमिका महत्त्वपूर्ण हुने भएकाले अडान लिन गभर्नर महाप्रसाद अधिकारीलाई रावलले सुझाव दिए।