काठमाडौं। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) बीच बृहत तालिम सञ्चालनका लागि सम्झौता भएको छ।
बुधबार नाडाको सचिवालयमा नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाईका सदस्य तथा स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह सरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) का उच्च अधिकारीको समुपस्थितिमा नाडाको सचिवालय टेकुमा बृहत तालिम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा नाडाकातर्फबाट अध्यक्ष डा. ध्रुव थापा र सो परियोजनाकातर्फबाट संस्थाका टिम लिडर रवीन्दवहादुर सिंहले हस्ताक्षर गरेका हुन्। त्यसैगरी सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तसमेत तयार गरिएको छ।
नाडाका सदस्य कम्पनीमा कार्यरत कर्मचारी, प्राविधिज्ञलगायत नयाँ कर्मचारी र प्राविधिकलाई दक्ष र सीपयुक्त बनाउनका लागि लागि यो सम्झौता गरिएको हो।
यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने छ। जसका लागि नाडाका सदस्य कम्पनीले आफ्ना आवश्यकताअनुसार कर्मचारी तथा प्राविधिकलाई तालिम दिन सिफारिससमेत गर्नेछ, जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुने नाडाले जनाएको छ।
नाडाले आफनो इतिहासमा पहिलोपटक यस किसिमको तालिम सञ्चालन गर्न लागेको र यसलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ।
यस किसिमको तालिमले अटोमोबाइल्स क्षेत्रमा सहजरूपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाको छ। यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालयको व्यवस्था गरिसकेको छ।
नाडाले यस किसिमका कार्यहरू सुचारु रूपले सञ्चालन गर्न उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत, तथा सोहन श्रेष्ठ सहितको ६ सदस्यीय सीप विकास इकाईसमेत गठन गरेको छ।