काठमाडौं। छिमेकी चीनको लोकप्रिय मोबाइल वालेट वीच्याटको नेपालका लागि आधिकारिक बैंक एनएमबी बनेको छ। चीनको बैंकसँग सहकार्य गर्दै एनएमबीले पहिलोपटक आधिकारिकरूपमा वीच्याट सार्वजनिक गर्न लागेका हो।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले एक सातापछि नेपालमा वीच्याट सार्वजनिक गर्ने जानकारी दिए। चीनबाट नेपाल आएका पर्यटकले गर्ने खर्च अब वीच्याटको क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने उनले बताए। उनीहरूले तिरेको रकम एनएमबी बैंकमा डलरको रूपमा जम्मा हुने छ। चीनको बैंकसँगको सहकार्यमा रकम तिर्ने व्यक्तिको खाताबाट कटौती हुनेछ।
चिनियाँहरू नेपाल आउँदा उनीहरूले मोबाइलमै पैसा तिर्छन्। क्यूआर कोडमार्फत तिरेको रकम चीनको आइसीआइसी बैंकसँगको साझेदारीमा डलरमा रूपान्तरण हुने छ।
आगामी असार ८ र ९ गते पोखरामा हुने नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभलको उद्घाटनको बेला वीच्याट वालेट सार्वजनिक गरिने सिइओ केसीले क्यापिटल नेपाललाई जानकारी दिए। लामो समयको प्रयासपछि चिनियाँ वालेट वीच्याटको आधिकारिकता लिन सफल भएको उनले बताए।
हुन त नेपालमा वीच्याट यसअघि पनि सार्वजनिक भएको थियो। तर, नेपाल राष्ट्र बैंकबाट अनुमति नलिएको भन्दै बन्द गराइदिएका थिए। खासगरी चिनियाँ पर्यटकले नेपालमा आएर गरेको खर्चको भुक्तानी सिधै चीनको बैंकमा जम्मा हुनेभन्दै राष्ट्र बैंकले वालेट बन्द गराइदिएको थियो।
खासगरी चिनियाँ लगानीमा सञ्चालनमा आएका होटल तथा रेस्टुरेन्टमा चिनियाँ पर्यटकले गर्ने खर्च वीच्याटमार्फत भुक्तानी गर्दै आएका थिए। जसका कारण नेपाल आएका पर्यटकले गरेको खर्चसमेत चीनमा जाने गरेको थियो।
चीनबाट संख्यात्मकरूपमा धेरै पर्यटक नेपालमा आए पनि डलर आम्दानी भने नहुने भन्दै व्यवसायीले लामो समयदेखि विरोध गर्दै आएका थिए। यसअघिको तथ्यांकअनुसार चीनबाट नेपालमा वार्षिक १ लाख ५० हजारभन्दा बढी चिनियाँ पर्यटक आउने गरेका छन्।
चीनबाट नेपाल आउने पर्यटकले त्यहाँको डिजिटल भुक्तानी टुलको प्रयोग गरी नेपालमा सेवा लिने गरेका थिए। राजधानीको ठमेल र वसन्तपुर तथा पोखराजस्ता पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, गेस्टहाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी लिने गरेका थिए। यसरी भुक्तानी गर्दा नेपालमा कारोबार देखिँदैन।
चिनियाँहरूले नगदभन्दा मोबाइल वालेट धेरै प्रयोग गर्ने गरेका छन्। कोभिडअघि नेपालमा धेरै चिनियाँको लगानीमा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका थिए।
नेपालमा वीच्याट वालेट बन्द गरिदिँदा चिनियाँहरूले यहाँ आउदा नगद नै बोक्नुपर्ने बाध्यता थियो। तर, एनएमबी बैंकले आधिकारिकता लिएसँगै ती पर्यटकलाई नगद बोक्नुपर्ने झनझटको अन्त्य हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) डा.धन्जय रेग्मीले जानकारी दिए।
चीनबाट नेपालमा ठूलो संख्यामा पर्यटक आउन सक्ने भएकाले उनीहरूको सहजताको लागि एनमबी बैंकले वीच्याटको आधिकारिकता लिदाँ धेरै फाइदा पुग्ने उनले बताए।
पर्यटन बोर्डले पनि वीच्याट सार्वजनिक गर्न साझेदार गर्ने भएको छ। यसले प्रत्यक्षरूपमा पर्यटकसँगै नेपालको लागि फाइदा पुर्याउने भएकोले सहकार्य गरिएको सिइओ रेग्मीले जानकारी दिए।