काठमाडौं। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले अबको १० वर्षमा नेपाल १५ हजार मेगावाटभन्दा बढीको विद्युत व्यापार गर्ने अवस्थामा पुग्ने बताएका छन्।
बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान)को २१औं वार्षिक साधारणसभा कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
‘उर्जा व्यापारमा भारतसँग भएको सम्झौता कार्यान्वयनमा जान्छ र हामी त्यो लक्ष्यमा पुग्न सक्षम छौं,’ मन्त्री बस्नेतले भने, ‘आगामी १० वर्षमा १० हजार मेगावाटमात्र होइन, १५ हजारभन्दा बढीको विद्युत व्यापार गर्ने अवस्थामा पुग्छौं।’
उनले हामी आफैंले ऊर्जाको आन्तरिक खपत बढाउन एउटा गुरु योजना बनाएर अगाडि बढ्न आवश्यक भएको बताए। ‘हामीले १५/२० हजार मेगावाटको व्यापार गर्न कति उत्पादन गर्ने? विषय र ट्रान्समिटर तथा खपतको कुरामा पनि ध्यान दिन आवश्यक छ,’ मन्त्री बस्नेतले भने, ‘यसरी समग्र विषयमा ध्यान दिँदै ऊर्जालाई समृद्धिको आधार बनाउनुपर्छ।’
उनले उत्पादनको कुरा गरेरमात्रै सरकार त्यसको लक्ष्यमा नपुग्ने बताए। ‘हामीले उत्पादन गरेर मात्र हुँदैन। त्यति ऊर्जा उत्पादन गर्न लगानी व्यवस्थापन, कानूनी र नितिगत तयारी, पूर्वाधार व्यवस्थापन गर्ने विषयमा हामी स्पष्ट छौं,’ बस्नेतले भने, ‘सरकारको त्यो लक्ष्य पूरा गर्न हामी दृढ छौं। सरकारले उर्जामा लिएको लक्ष्य पूरा गर्न सबैलाई मिलेर अगाडि बढ्न आग्रह छ।’
उनले अब आर्थिक विकासका बारेमा चर्चा गर्न आवश्यक रहेको बताए। ‘अब राजनीतिक विषयमा धेरै चर्चा गर्ने होइन, मुलुकको आर्थिक विकास, समृद्धि हासिल गर्ने विषयमा केन्द्रित हुन आवश्यक छ,’ मन्त्री बस्नेतले भने, ‘ऊर्जाको विकासमा सरकार र निजी क्षेत्र सबैले सहकार्य गर्न आवश्यक छ।’ उनले अबको केही दिनमा ऊर्जासम्बन्धी विधेयक संसदमा पेस हुने पनि बताए।