काठमाडौं। बैंकहरूले घुमारो पारामा कर्जा दिएर साँवा र ब्याज असुली गर्दै आएका थिए। एकातिर नयाँ कर्जा दिने अर्कोतिरबाट सोही कर्जाबाट आफूले ऋणीबाट लिनुपर्ने साँवा र ब्याज उठाइरहेका बैंकहरू यतिखेर समस्यामा परेका छन्।
आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी छ। ऋणीले विगतमै ऋणको साँवा-ब्याज तिरेका छैनन्। चैत मसान्तमा धेरै ऋणीले साँवा-ब्याज नतिर्दा बैंकहरूको निश्क्रिय कर्जा बढेको थियो।
असार मसान्तमा पनि ऋणीहरूले बैंकलाई बुझाउनुपर्ने साँवा र सोमा लागेको ब्याज नबुझाउने अवस्था बन्दै गएको बैंकरहरू बताउँछन्।
खासगरी, नेपाल राष्ट्र बैंकले चालूपुँजी कर्जा मार्गदर्शनलाई कडाइका साथ कार्यान्वयन गरिदिएपछि बैंकहरूले लगानी गरेको ऋणको साँवा र ब्याज असुल्ने बाटो बन्द भएको थियो।
बैंकले ऋणीलाई उचालेर चालूपुँजी कर्जालाई सरल नबनाए आर्थिक गतिविधि ठप्प हुने, नयाँ कर्जा दिन नसक्ने अवस्था आउँछ भनिरहेका थिए। तर, राष्ट्र बैंकले चालूपुँजी कर्जाका सन्दर्भमा कुनै सम्झौता नगरेपछि नयाँ कर्जा दिएर पुरानो ऋण उठाउने बैंकको बाटो बन्द भएको थियो।
त्यसैको असर असार मसान्तमा पनि पर्ने बैंकरहरू बताउँछन्। एकातिर आर्थिक अवस्था नराम्ररी प्रभावित भइसकेको छ। त्यसैका कारण व्यवसायीको ऋण तिर्न सक्ने क्षमतामा ह्रास आइरहेको छ।
चालूपुँजी कर्जाका कारण बैंकहरू नयाँ लगानी गर्न सक्ने अवस्थामा छैनन्। बैकले नयाँ लगानी नगर्दासम्म ऋणीले बैंकलाई तिर्नुपर्ने साँवा-ब्याज तथा किस्ता तिर्न नसक्ने बैंकरहरू नै बताउँछन्।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सिडी) ८४.४० छ। यो भनेको लगानीयोग्य रकम पर्याप्त हुँदा पनि बैंकहरूले लगानी विस्तार गर्न सकेका छैनन्।
चालूपुँजी कर्जाकै कारण नयाँ लगानी विस्तार नहुँदा बैंकसँग ठूलो रकम पनि थुप्रिएको छ।
एक बैंकरका अनुसार बैंकसँग कर्जा प्रवाह गर्ने क्षमता पनि छ, कर्जाको माग पनि छ, तर नीतिगत अप्ठेरोका कारण ऋण प्रवाह गर्न सकिएको छैन। बैंकले कर्जाको ब्याज पनि घटाइसकेका छन्। यो अझै घट्दोक्रममा छ। तर, अहिले ब्याज बढी भएका कारण कर्जा प्रवाह नभएको होइन। चालूपुँजी कर्जालाई कार्यान्वयन गर्न खोज्दा बैंकमा लगानीयोग्य रकम थुप्रिएको हो।
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहे पनि कर्जा प्रवाहको गति न्यून रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत वैशाखसम्मको तथ्यांकअनुसार १० महिनामा बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ।
गत असारको तुलनामा यो करिब ७.३ प्रतिशतको वृद्धि हो। गत साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले कूल १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड रुपैयाँ थियो।
बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म सिडी अनुपात कायम गर्न पाउँछन्। तर, त्यस्तो अनुपात ८४.४० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ। बैंक तथा वित्तीय संस्थासँग करिब ३ खर्ब १८ अर्ब रुपैयाँ लगानी गर्न मिल्ने रकम छ। तर, बैंकले कर्जा प्रवाह गर्न सकेका छैनन्।