काठमाडौं। स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान)का अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्रलाई उर्जा व्यापारको बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन्।
बिहीबार इप्पानको २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले यस्तो आग्रह गरेका हुन्।
‘सरकारले १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने विषयमा सफल हुन सरकार निजी क्षेत्र समन्वय गर्न आवश्यक छ,’ अध्यक्ष आचार्यले भने, नेपालको जलस्रोतको व्यापार गर्न निजी क्षेत्रलाई बाटो खोलिदिन आग्रह गर्दछु। निजी क्षेत्रले उत्पादन गरेर देखाएकाले व्यापार पनि गरेर देखाउन सक्छ।’
उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराएपछि सरकारले भनेको र लक्ष्य राखेको १० हजार, १५ हजार मेगावाट बिजुली उत्पादन गर्न निजि क्षेत्र तयार भएर बसेको बताए।
‘पछिल्लो समयमा भारत भ्रमणमा भएको सम्झौताबाट पनि यो भ्रमण ऊर्जामय भएको छ,’ आचार्यले भने, ‘यो विगतमा हुने गरेका अन्य भ्रमण भन्दा ऊर्जालाई प्राथमिकता राख्न सफल भएको छ।’
उनले ऊर्जाको विकास, विस्तार र खपतका लागि निश्चित वर्षको योजना बनाएर सोहीअनुसार अगाडि बढ्न आवश्यक भएको बताए। ‘हामीले भारतमा निर्यात गर्ने विषयको साथमा नेपालमा खपत गराउने विषयमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने।
आफ्नो कार्यकाल केही समयमा टुंगिने बताउदै यस कार्यकालमा सहयोग गर्ने सबैप्रती आचार्यले धन्यवाद ज्ञापन गरे।