भरतपुर। चितवनका ३ हजार ३ सय ८० गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका २ हजार ९ सय ९०, रत्ननगर नगरपालिकाका ३ सय ४० र राप्ती नगरपालिकाका ५० गाईभैंसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ। खोप खरिदका लागि कार्यलयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैँले खोप खरिद गरी लगाएको उनले जानकारी दिए।
प्रदेश सरकार र सङ्घीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो। आचार्यले भने, “सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन। अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ।”
कार्यालयमा बजेट नहुँदा कृषक आफैँले खोप खरिद गरेका हुन्। अति प्रभावित क्षेत्रका पशुपालक कृषकले आफैँ खोप खरिद गरी लगाएका छन्। कार्यालयले अहिलेसम्म ५ हजार गाईभैँसीलाई औषधि वितरण गरेको उनले जानकारी दिए। रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको छ।
लम्पीस्किनका कारण गाईभैंसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ। जिल्लामा हालसम्म ४ हजार १ सय गाईभैँसी यस रोगबाट प्रभावित भएका छन्। जसमध्ये १ सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ। यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन्। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार ९ सय ७८ भैँसी पालिएको छ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ। यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए। रोग लाग्नबाट बचाउन लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ। रासस