काठमाडौं। मुलुकभरि फैलिएको पशुरोग ‘लम्पी स्किन’ का कारण नेपालमा ८५ अर्ब रुपैयाँ बढीको क्षति हुने सरकारले अनुमान गरेको छ। अहिलेसम्म २० अर्ब रुपैयाँ बढीको क्षति भइसकेको र रोग फैलिने क्रम नरोकिएकाले क्षति अझ बढ्ने नेपाल पशु चिकित्सा परिषद्का निमित्त रजिष्ट्रार एवं प्रवक्ता डा. मनोजकुमार शाही बताउँछन्।
चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म ९ हजार ४ सय १० गाई, गोरु र भैँसी मरेका छन्। यसैगरी, हालसम्म ३ लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ।
यस रोगको प्रकोपबाट सबैभन्दा बढी कर्णाली प्रदेशमा ४ हजार ७ सय ७५ पशु मरेका छन्। त्यसपछि सुदूरपश्चिममा २ हजार ७ सय ४७, कोशीमा १ हजार १ सय ३२, गण्डकीमा ३ सय ३०, बागमतीमा २ सय ८१, लुम्बिनीमा १ सय १०, मधेस प्रदेशमा ३५ पशु मरेको तथ्याङ्क छ । सङ्क्रमित पशुहरूमा औषधि र शक्तिबर्द्धक खानेकुराले निको हुने दर ३० प्रतिशत भएको पशु सेवा विभागले जनाएको छ।
उनका अनुसार २०३६ सालपछि नेपालमा पशुमा देखा परेको यो सबैभन्दा ठूलो खतरनाक रोग हो। सो समय पनि रोगले धेरै पशु मरेर आर्थिक क्षति भएको थियो। अहिलेको अवस्था त्योभन्दा भयावह हुने आंकलन गरिएको छ।
नेपालमा ७४ लाख गाई र ५२ लाख भैंसी गरी कूल १ करोड २६ लाख पशु छन्। जसमध्ये ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको विभागले जनाएको छ। संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन्।
सूचना अधिकारी ढकालले क्यापिटल नेपालसँग भने, ‘हामीले पछिल्लो समय निकालेको तथ्यांक यही हो तर, वास्तविकरूपमा भन्ने हो भने लम्पी स्किन रोग संक्रमित र मृत्यु भएका पशु अझ बढी छन्। यो प्रारम्भिक आंकलनमात्रै हो।’
विभागले स्थानीय तहसँग समन्वय गरेर उक्त विवरण तयार पारेको हो। दिनानुदिन संक्रमित पशुको संख्या बढ्दो क्रममा रहेकाले वास्तविक तथ्यांक संकलनमा समस्या भएको विभागले जनाएको छ।
परिषद्का प्रवक्ता शाही पनि लम्पी स्किन रोगको संक्रमण भयावह बन्दै गएकाले सरकारले निकालेको तथ्यांकमा भर परेर बस्न नहुने बताउँछन्। ‘त्यो तथ्यांकभन्दा अहिलेको अवस्था धेरै अघि पुगिसक्यो, नियन्त्रण गर्न सकिएन भने अर्को वर्ष नेपालमा दूधको हाहाकार हुन्छ’ प्रवक्ता शाहीले भने। रोग लागेका गाईभैंसीबाट ५० प्रतिशतभन्दा बढी दूध घट्ने गरेको छ।
एउटा गाईभैंसी मरेमा करिब एक लाख रुपैयाँ क्षति हुने प्रक्षेपण भारतमा गरिएको छ। तर, नेपालले भने हालसम्म त्यसरी अनुमान गरेको छैन।
के हो लम्पी स्किन रोग?
यो गाई र भैंसीमा झिंगा, डाँस, भुसुना, लामखुट्टे, किर्नाहरूको टोकाइबाट सर्ने रोग हो। तर, अन्य घरपालुवा वा वन्यजन्तुमा उक्त रोग हालसम्म देखा नपरेको विभागको भनाइ छ। लम्पी स्किनले गाईभैंसीको छालामा साह्रो गिर्खा बन्ने, उच्च ज्वरो आउने, दूध उत्पादन क्षमता ५० प्रतिशतसम्म घट्छ।
यस रोगको संक्रमण भने गर्मी समयमा बढी हुने पशु चिकित्सकहरू बताउँछन्। बिरामी पशुलाई एन्टिबायोटिक औषधीभन्दा किसानले घरेलु उपचार गरेर रोग नियन्त्रणमा लिन सक्ने परिषद्का प्रवक्ता शाही बताउँछन्। ‘एन्टिबायोटिक औषधी प्रयोगभन्दा पनि रोग लाग्न दिनु हुँदैन, एउटा पशुमा संक्रमण भयो भने छुट्टै राख्नुपर्छ,’ उनी भन्छन्, ‘फार्महरूमा संक्रमण भएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ। तर, २/४ वटा गाईभैंसी पालेको ठाउँमा फैलिन पाउँदैन।’
संक्रमण हुनुभन्दा पहिला नै गाईभैंसीलाई खोप लगाउने तथा प्राविधिकको सल्लाहअनुसार उपचार गर्दा अझ राम्रो हुने उनको भनाइ छ। उनका अनुसार रोग लागेको पशु पनि स्वस्थ बन्न सक्छ। यद्यपि, सामान्य अवस्थामा फर्किन भने लामो समय लाग्छ।
लम्पी स्किन रोग लागेका राँगाले ६ महिनासम्म प्रजनन् क्षमता गुमाउने, गाईमा २ महिनासम्म दूध घट्ने र अर्को पटकको प्रजनन् क्षमता तत्काल नफर्किने हुन्छ।
त्यस्तै भैंसीको छाला निर्यातमा पनि असर पुग्ने देखिएको छ। छालामा गिर्खा र दाग बस्ने भएकाले नेपालको छाला निर्यात व्यवसायमा पनि असर पुग्ने परिषद्का प्रवक्ता शाहीले बताए।
अफ्रिकामा देखापरेको लम्पी स्किन रोग फैलिएर युरोपियन देश हुँदै भारतबाट नेपाल भित्रिएको पशु विभागका सूचना अधिकारी ढकालले बताए। २०७७ मा मोरङको सुन्दरहरैंचा नगरपालिका देखापरेको उक्त रोग अहिले देशैभरि फैलिएको छ। देशभरिका १५ प्रतिशत पशुमा संक्रमण फैलियो भने लम्पी स्किन नियन्त्रण बाहिर जाने प्रवक्ता शाही बताउँछन्।
‘सरकारले किसानको समस्यालाई ध्यान दिन सकेको छैन, पशु चिकित्सक पर्याप्त छैनन्। हुन त म पनि जिम्मेवारी कर्मचारी हुँ मैले गर्ने पहल मात्रै हो, सुन्ने मान्छेले नसुनेपछि केही हुन्न,’ प्रवक्ता शाही भन्छन्, ‘एउटा किसानले दूध बेचेर छोराछोरी पढाइरहेको छ, जीवनयापन गर्ने बाटो नै त्यही गाईभैंसी पालन हुन्छ। जिल्लामा ल्याब छैन किसानका पशुचौपाया भगवान भरोसामा बाँचिरहेका छन्।’
स्थानीय तहमा बस्न मान्दैनन् पशु चिकित्सक
नेपालमा ७ सय ५३ वटा स्थानीय तह छन्। जसमध्ये ८२ प्रतिशत स्थानीय तहमा पशु चिकित्सक नभएको परिषद्ले जनाएको छ। परिषद्मा १ हजार ७ सय ८० जना सरकारी तथा नीजि क्षेत्रका पशु प्राविधिक छन्।
तर, आठौं तहका कर्मचारीलाई स्थानीय तहमा पठाउँदा पाँचौं/छैटौं तहका कर्मचारीलाई जस्तो व्यवहार र सेवा सुविधा दिएपछि डाक्टरहरू बस्न नमानेका हुन्।
जसले गर्दा सामान्य प्राविधिकहरूको भरमा पशुको उपचार र रोग पहिचान गर्नु परेको प्रवक्ता शाही बताउँछन्। ‘गत वर्ष सरकारले ३ सय जना पशु प्राविधिक करारमा राखेको थियो तर, यो वर्ष घटाएर १ सय ६० जनामा सीमित गराएको छ,’ उनले भने।
रोग नियन्त्रण गर्न छैन बजेट
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले भयावह रूपमा फैलिरहेको रोगका लागि पर्याप्त बजेट विनियोजन गरेको छैन। विभागका सूचना अधिकारी ढकालका अनुसार प्रत्येक स्थानीय तहलाई १/१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्बौं रुपैयाँ क्षति हुने आंकलन गरिएको समयमा सो बजेटले कुनै अर्थ राख्ने देखिँदैन। किन थोरै बजेट विनियोजन भयो? जवाफ दिँदै विभागका सूचना अधिकारी ढकालले भने, ‘स्थानीय तहसँग आफ्नै बजेट हुन्छ, हामीले दिएको संघीय ससर्त अनुदान बजेटमात्रै हो त्यसैले थोरै भएको हो।’
तर, सरकारले पशु प्राविधिक, बजेट, औषधि उपचारमा पर्याप्त तयारी गरेको छैन। जसले गर्दा लम्पी स्किन रोगले गाईभैंसीमा महामारीको रूप लिने निश्चित छ।
नेपालमा कहिले भित्रियो यो रोग
नेपालमा विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलो पटक देखापरेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ।
लक्षण देखा परेपश्चात् उक्त गाईहरूबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साल साउन ११ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो । यसरी रोग पुष्टि भएपछि सो रोगको सूचना विश्व पशु स्वास्थ्य सङ्गठनमा पशु स्वास्थ्य सूचना प्रणालीमार्फत गरेको थियो।
यस लगत्तै गत असार महिनामा नै चितवनको राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका र मकवानपुरको हेटौँडा नगरपालिमा यो रोग देखिई धेरै जिल्लाहरूमा फैलिएको थियो।
यो रोग मुख्यगरी सब सहारन अफ्रिका, मध्यपूर्व र टर्कीमा महामारीकै रूपमा देखिने गरेको र एसियामा सन् १९८९ मा इजरायलमा यो रोग देखिएको थियो। यो रोग पछिल्लो समयमा सन् २०१९ पछि दक्षिण र पूर्वी एसियाका देश जस्तै बङ्गलादेश, भारत, चीन, चीन ताइपेई र भियतनाममा देखा परिसकेको अवस्था छ।