काठमाडौं। एयरलाइन्सको पार्टपूर्जामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको सिम्रिक एयरको नयाँ हेलिकोप्टर अलपत्र परेको छ। आर्थिक वर्ष २०८०/०८१ को बजेटमा एयरलाइन्सहरूले सामान आयात गर्दा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको छ।
संयोगबस सिम्रिकको सो नयाँ जहाज बजेट सार्वजनिक भएको भोलिपल्ट जेठ १६ गते विमानस्थलमा अवतरण भएको थियो। जहाज आए पनि विमानस्थल भन्सार कार्यालयले १३ प्रतिशत भ्याट तिर्नुपर्ने भनेपछि त्यतिकै रोकिएको हो।
सरकारले २०५२ सालदेखि जहाज खरिद वा त्यसका लागि आवश्यक पार्टपुर्जा खरिदमा १ प्रतिशत मात्र भ्याट लगाउँदै आएको थियो। तर, अर्थमन्त्री डा. महतले एयरलाइन्सको पार्टपूर्जामा समेत भ्याट लगाउने विषय बजेटमा समावेश गरेपछि एयरलाइन्स सञ्चालकहरू तनाबमा परेका छन्।
सिम्रिकको हेलिकोप्टर मात्र हैन, अन्य एयरलाइन्सले समेत पार्टपुर्जा मगाउदा भ्याट तिर्नुपर्ने भएपछि समस्या आएको एक व्यवसायीले बताए। जहाजका सम्पूर्ण सामान विदेशबाट निर्यात गर्नुपर्ने स्थितिमा भ्याट लगाउने निर्णयले झनै महंगो पर्ने भएकोले व्यवसायनै संकटमा पर्ने अवस्था सिर्जना भएको ती व्यवसायीको भनाइ छ।
अहिले एयरलाइन्स सञ्चालकले तत्कालीन अवस्थामा भ्याट लगाउने निर्णय गलत भएको भन्दै फिर्ता गराउन ‘लबिङ’ गरिरहेका छन्। कोभिड महामारी, रुस र युक्रेनबीचको युद्धको कारण उत्पन्न आर्थिक मन्दिको कारण पर्यटन क्षेत्र धरासायी बनेर विस्तारै लय समात्न लागेको बेलामा सरकारले हवाई क्षेत्रमा भ्याट लगाउने निर्णय गलत भएको व्यवसायीहरूको भनाइ छ। भ्याट लगाउने निर्णयले जहाज र हेलिकोप्टरको मूल्यसमेत बढ्ने भएको छ। जसको प्रत्यक्ष असर यात्रुलाई पर्ने छ।
भ्याट लगाउने सरकारको निर्णयपछि हेलिकोप्टर खरिदका लागि तयार भएका व्यवसायीसमेत पर्ख र हेरको अवस्थामा छन्। ‘अहिलेको अवस्थामा सरकारले पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै भ्याट लगाएर महंगो बनाउन लागेको छ,’ एक व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘यो निर्णय गलत भएकाले सच्याउन जररी छ।’
सुत्केरी र बिरामी मर्कामा
बजेटमा हवाई टिकटमासमेत भ्याट लगाउने निर्णयले भाडा महंगो हुने भएको छ। केही समय अगाडि पर्यटनसँग आबद्ध संघसंगठनहरूले पत्रकार सम्मेलन गरी भ्याट लगाउने निर्णय फिर्ता गर्न सरकारलाई अनुरोधसमेत गरेका छन्।
खासगरी हेलिकोप्टर चार्टर्डमार्फत हुने सुत्केरी र अन्य बिरामीको उद्धारसमेत महंगो हुने भएको छ। गाउँ–गाउँबाट बिरामी उद्धार गर्नुपर्ने हुँदा १३ प्रतिशत भ्याट बिरामीलाई नै जोड्नुपर्ने भएकाले भाडा महंगिने र त्यसको प्रत्यक्ष असर सर्वसाधारणलाई पर्ने व्यवसायीको भनाइ छ। अहिले हेलिकोप्टरमार्फत नेपालका धेरै ठाउँबाट बिरामीको उद्धार भइरहेको छ।