काठमाडौं। नेपाल बिमा प्राधिकरणले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीआई)मा आबद्ध भएको छ।
यस सम्बन्धमा हालैमात्र नेपाल बिमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडी विभिन्न भुक्तानीमध्ये तलब, भेण्डर भुक्तानी, लगानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्नेछ।
बिमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बिमा प्राधिकरण र एनसिएचएलसँगको यस सहकार्यले झन टेवा पुर्याउने विश्वास गरिएको छ। नेपालमा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने नियामक निकायको रूपमा रहेको प्राधिकरणले सधैँ सेवाको प्रभावकारिता बढाउन डिजिटल माध्यमको प्रयोगलाई जोड दिँदै पहल कदमी भूमिका निभाँउदै आएको छ।
यसअघि प्राधिकरणले प्रदान गर्ने बिमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसिएचएलको कनेक्ट आइपिएस प्रणालीमार्फत हुने व्यवस्था गरेको थियो र आगामी दिनमा प्राधिकरणले अन्य सेवा पनि क्रमशः डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएकोमा हाल ५५ सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् भने १५ बिमा कम्पनीका साथै अन्य पिएसपी–पिएसओ, रेमिटेन्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थालगायतका ९० भन्दा बढी गैर—बैंकिङ संस्था इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।