काठमाडौं। नेपाल जिआन्ट कार इन्डस्ट्री ग्रुप प्रालिले चारपांग्रे सवारीसाधन एसेम्बल गर्ने भएको छ। जिआन्टले पाँच वर्षदेखि नेपालमा दुईपांग्रे र तीनपांग्रे विद्युतीय सवारीसाधन एसेम्बल र म्यानुफ्याक्चरीङ गर्दै आएको छ। अहिलेसम्म कम्पनीले १ हजारभन्दा बढी दुईपांग्रे सवारी र पाँच सयभन्दा बढी तीनपांग्रे सवारी एसेम्बल र म्यानुफ्याक्चरीङ गरिसकेको छ।
सुरुमा वीरगन्जबाट सञ्चालनमा आएको यस कम्पनी एक वर्षदेखि भने काठमाडौं स्थानान्तरण भई सञ्चालनमा छ। ‘पहिले वीरगन्जबाट एसेम्बलको काम गर्दै आएकोमा अहिले प्लान्ट काठमाडौंको साँखुबाट लगभग तीन किलोमिटरको दुरीमा सरेको छ। काठमाडौंमा सरेको एक वर्ष पूरा भएको छ,’ जिआन्टका व्यवस्थापक छवी गोलेले क्यापिटल नेपालसँग भने, ‘अहिले दुईपांग्रे सवारीसाधन एसेम्बल हुन्छ भने तीनपांग्रे सवारीसाधनको म्यानुफ्याक्चरीङ हुने गरेको छ।’
उनका अनुसार तीनपांग्रे सवारीका पार्टपुर्जा बाहिरबाट आएपछि त्यसलाई आवश्यकता बमोजिम र ग्राहकको इच्छाअनुसार नयाँ मोडलमा बनाउने काम पनि हुने गरेको छ। यसरी सवारीसाधन एसेम्बल र बिक्री–वितरण गर्ने काम निरन्तर भइरहेको उनले जानकारी दिए।
यस अवधिमा जिआन्टले मुलुकको मुख्य–मुख्य सहरमा आफ्नै डिलरसिप खोलिसकेको छ। जिआन्टले आफूले एसेम्बल र म्यानुफ्याक्चर गरेका सवारीसाधन बिक्री गर्न नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, इटहरी, लहान, राजविराज, जनकपुरलगायतका ठाउँमा डिलरसिप सञ्चालनमा ल्याइसकेको छ।
कम्पनीका अनुसार सवारीसाधन एसेम्बलका लागि मासिक सामान्यतया दुई कन्टेनरसम्म सामग्री नेपाल आउने गरेको छ। ‘अहिले समग्र क्षेत्र संकुचन भएकाले हाम्रोमा मासिकरूपमा एक कन्टेनर सवारीसाधन एसेम्बल सामग्री आउने गरेको छ,’ व्यवस्थापक गोलेले भने, ‘तर बिक्री कम भएको समयमा सामान्यतया एक कन्टेर आउने गरेको भए पनि बिक्री बढी भएको समयमा भने दुई कन्टेनर वा सोभन्दा बढी सवारीसाधन एसेम्बल सामग्री हामीले ल्याउने गरेका छौं।’
सत्प्रतिशत चिनीयाँ लगानी रहेको कम्पनीले बाराको श्रीनगर वैरिया गाविस वडा नम्बर–२ मा एसेम्बल प्लान्ट खोल्ने लक्ष्यका साथ २०७५ साल माघ ६ गते उद्योग विभागमा दर्ता भएको थियो। ४ करोड ९० लाख रुपैयाँ लगानी गरी ४० जनालाई रोजगारी दिने विवरण पेस गर्दै उद्योग विभागमा दर्ता भएको जिआन्टले विद्युतीय मोटरसाइकल÷स्कुटर र विद्युतीय कार/भ्यान एसेम्बल गर्ने विवरण विभागमा पेस गरेको थियो।
चारपांग्रे सवारीसाधन पनि एसेम्बल हुँदै
उद्योगमा एसेम्बल कार्यको प्रारम्भिक सुरुवात सन् २०१८ बाट भए पनि सन् २०१९ बाट भने तीव्रताका साथ अगाडि बढाइएको थियो। तर, कोरोना महामारीले कम्पनीको सो लक्ष्यमा पनि धक्का पुग्यो। महामारीका कारण लगभग तीन वर्ष संकुचनमा परेको यस एसेम्बल प्लान्टले अहिले भने विस्तारै गति लिन थालेको छ।
सबै अवस्था सामान्य बन्दै गएकाले अहिले कम्पनीले चारपांग्रे सवारीसाधन एसेम्बललाई पनि अघि बढाएको छ। ‘अहिले चारपांग्रे सवारीसाधनको एसेम्बलका लागि पनि हामीले प्रक्रिया अगाडि बढाएका छौं,’ व्यवस्थापक गोलेले भने, ‘चीनबाट केही समय अगाडि एक समूह आएर अध्ययन गरेर फर्केको छ। त्यसैले अब चारपांग्रे सवारीसाधन एसेम्बलको सुरुवात चाँडै हुन्छ।’
उनका अनुुसार चीनबाट आएको सो समूहले एक साता जस्तो घुमफिर गरेर अन्य एसेम्बल प्लान्टहरूको बारेमा बुझेर त्यहाँ के–कस्तो छ? कसरी चलिरहेको छ? वातावरण कस्तो छ? लगायतका कुरा पनि बुझेका छन्। सो समूह फर्किसकेको हुनाले यो महिनाभित्र चारपांग्रे सवारीसाधन एसेम्बलको विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराको अध्ययन गरी निष्कर्षमा पुग्ने लक्ष्य कम्पनीको छ।
यस जिआन्ट उद्योगमा कोरोना महामारीभन्दा अघि ३०/३५ जना कामदार कार्यरत थिए। तर, कोरोना महामारीपछि कामदार कम हुँदै आएर हाल भने १२/१३ जनामा सिमित भएको छ। अहिले एसेम्बलको कार्य जारी रहेकाले अब चारपांग्रेमा गएपछि अझ ‘अपग्रेट’ गर्दै जाने गोलेले बताए।
काठमाडौंको गैरीधारामा आफ्नै स्कुटर शोरुम
नेपालमै सवारी उत्पादन र एसेम्बल गरी बिक्री गर्ने उद्योगलाई राज्यले छुट तथा सहुलियत दिने नीति लिएसँगै २०७५/७६ सालमा सवारी उत्पादन उद्योग दर्तामा लहर चलेको थियो। उद्योग विभागको तथ्यांकअनुसार २०७५/ ७६ मा मात्रै नौवटा एसेम्बल उद्योग दर्ता भएका थिए। सोही समयमा जिआन्ट इन्डस्ट्री पनि उद्योग विभागमा दर्ता भएको थियो।
तर, उद्योग विभागमा दर्ता भएकामध्ये निकै कमलेमात्रै उद्योग सञ्चालन गरिरहेको अवस्थामा यस उद्योगले भने काठमाडौंको गैरीधारामा स्कुटर शोरुम स्थापना गरेर आफूले एसेम्बल गरेका स्कुटरहरू बिक्री–वितरण गरिरहेको छ। सो शोरुममा हाल जेएल जिरो थ्री मोडल, जेएल जिरो सिक्स मोडललगायत तीन मोडलका स्कुटर बिक्री भइरहेका छन्।
कम्पनीमा हाल जेएलको लोगो र स्याउताउको लोगो गरी बेग्लाबेग्लै दुई ब्रान्डका सवारी उपलब्ध छन्। जेएल चीनमा रहेको कम्पनीको छोटकरी नाम हो भने स्याउताउ सोही कम्पनीसँग सहकार्य गरेर काम गरिरहेको अर्को कम्पनी हो। त्यसैले उनीहरूले जेएल र स्याउताउ दुवै नामको ब्रान्डका सवारीसाधन बिक्री गरेका छन्। स्कुटर, मोटरसाइकल, ई–रिक्सा एसेम्बल गर्दै आएको यस कम्पनीले चारपांग्रे सवारी एसेम्बलमा गएपछि आफ्नो क्षमतामा वृद्धि गर्दै थप प्रभावकारी ढंगबाट अघि बढ्ने बताएको छ।