काठमाडौं। अग्नि र प्यूठान सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको पोखरेल परिवारले लगानी विविधिकरण गरेको छ। पोखरेल परिवारले अहिले भैरहवामा तारे होटल निर्माण गरिरहेका छ।
परिवारले अग्नि सिमेन्ट र शुभश्री अग्नि सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ। दुई सिमेन्ट उद्योगका सञ्चालक राजकुमार पोखरेल र परिवारले १ अर्ब ८९ करोड रुपैयाँ लगानीमा चारतारे होटल सञ्चालनमा ल्याउन लागेका हुन्।
होटलको पूर्वाधार निर्माणको चरणमा रहेकाले आगामी सन २०२५ को सुरुको महिनामा सञ्चालनमा ल्याउन तयारी गरिएको छ। होटलमा ८० प्रतिशत बैंकबाट ऋण र बाँकी २० प्रतिशत पोखरेल परिवारले स्वपुँजी (इक्विटी) लगानी गरेका छन्।
सुरुमा तीनतारे होटल निर्माणको तयारी गरिएकोमा पछि स्तरोन्नति गरी चारतारे बनाइएको हो। होटल बुद्धस्टार प्राइभेट लिमिटेडको नाममा सञ्चालन हुने भएको छ। होटलमा १ सय २० वटा कोठा बन्ने भएका छन्। यसअघि होटल बनाउन ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
त्यस बेला ६५ करोड रुपैयाँ बैंकको ऋण लगानी र बाँकी स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको थियो। जसअनुसार ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहेको थियो। त्यसबेला ६३ कोठाको मात्र होटल बनाउने तयारी भएको थियो। होटल सन् २०१९ को नोभेम्बरदेखि निर्माण सुरु भएको हो।
मूल समयरेखाअनुसार होटल परियोजना गत वर्ष सन् २०२२ को अन्त्य सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको थियो। तर, कोरोना महामारीको प्रकोपपछि होटलको डिजाइन परिवर्तन गरी चारतारे बनाएपछि लागत र समय बढेको हो। होटलले अहिलेसम्म ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
बैंकिङ क्षेत्रमा तरलता समस्या र बढ्दो ब्याजदरका कारण आयोजना सम्पन्न गर्न समयमै ऋण उपलब्ध नहुँदा समस्या आएको बताइएको छ। होटलले ६६ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ।
होटल भैरहवा, लुम्बिनी विश्व सम्पदा स्थल नजिक छ। जुन लोकप्रिय पर्यटकीय गन्तव्य हो। होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिक अवस्थित छ। यसबाट होटलले व्यवसायिक लाभ लिन सक्ने बताइएको छ।
नेपाली सिमेन्ट उद्योगका खेलाडीहरू र विभिन्न सरोकारवालाहरू होटेलका लागि सम्भावित ग्राहकहरूसँग राम्रो सम्बन्धले पनि होटल बिजनेस बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बुद्धस्टार २०१८ को नोभेम्बरमा स्थापना भएको हो। सिमेन्ट व्यवसायमा रहेका पोखरेल परिवारको यो पहिलो लगानी हो।